जनादेश वाच ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद नयाँ उत्कर्षमा पुगेसँगै आजको सचिवालय बैठक निर्णायक बन्न सक्ने देखिएको छ ।
सचिवालयमा पार्टीका दुई अध्यक्षले पेस गरेका दुई छुट्टाछुट्टै राजनीतिक प्रस्तावमध्ये कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पारित हुनसक्ने सम्भावना बढेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बैठक निषेध गर्ने मनस्थितिमा पुगेका छन् । यद्यपि इतर पक्ष बहुमतीय मोडमा प्रवेश गरेर भएपनि ओलीलाई साइजमा ल्याउनेमा दृढ देखिएका छन् ।
मंगलबारको सचिवालय बैठकमा पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा आउने संकेत नदेखाएको ठहर गर्दै प्रचण्डपक्षीय नेताहरुले दुवै प्रतिवेदनहरुलाई बहुमतीय प्रक्रियाबाट टुंगोमा पुर्याउन लागेका हुन् ।
प्रचण्डले ओलीलाई सोधे- बैठक नराख्ने भन्ने तपाइँ को ?
प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव र त्यसको जवाफमा ओलीले पेस गरेको जवाफी प्रस्तावमाथि छलफल गर्न मंगलबार राखिएको बैठकमा दुई अध्यक्षबीच चर्काचर्की भएको थियो ।
श्रोतका अनुसार मंगलबार सचिवालय बैठकको सुरुमै ‘निहुँ’ खोजे। ‘आजको बैठकको एजेण्डा के हो र? मैले त कुनै पनि एजेण्डा देखेको छैन,’ प्रचण्डलक्षित प्रश्न थियो यो ओलीको। ओलीले होच्याएर गरेको प्रस्तुतिप्रति प्रचण्डलाई चित्त बुझेको थिएन।
तर पनि प्रचण्डले ‘हामी दुबैका प्रस्तावमाथि छलफल गर्ने एजेण्डा हो’ भन्दै संयमित रुपमा ओलीलाई जबाफ दिएको स्रोत बताउँछ। त्यसपछि ओलीले प्रचण्डले आफूलाई पुष्टि गर्न नसक्ने आरोप लगाएर पेश गरेको प्रस्ताव फिर्ता गर्नुपर्ने र प्रस्तावका कारण सिंगो पार्टी र कम्युनिष्ट आन्दोलन संकटमा परेका कारण माफी माग्नुपर्ने शर्त दोहोर्याएका थिए।
प्रचण्डले ओलीलाई भनेका थिए, ‘छलफलको औचित्य भएर नै प्रस्ताव ल्याइएको हो। प्रस्तावमाथि सिधै छलफल नगरौँ भन्नु कतिसम्मको व्यक्तिवाद हो? प्रस्तावमाथि छलफल गर्नुपर्छ। त्यसको विकल्प छैन। यसलाई यतिकै मिल्काउन हुन्न।’
यो सँगै आफूले प्रस्ताव दर्ता गर्नुपर्ने परिस्थितिबारे पनि प्रचण्डले व्याख्या गरेका थिए। प्रचण्डले स्थायी कमिटी बैठकको निर्णय प्रधानमन्त्री ओलीले कार्यान्वयन नगर्दा पार्टीमा गम्भीर संकट आइलागेको बताएका थिए।
प्रचण्डले ओलीलाई ‘म नै राज्य हुँ’ भनेजसरी प्रस्तुत भएको आरोप लगाएका थिए। प्रचण्डले ओलीलाई भनेका थिए, ‘विवाद सिर्जना गर्न तपाईँको हात छ। तपाईले फायर गरेको हो। हामीले प्रतिवाद मात्र गरेको हो। तपाईँले मलाई शत्रुतापूर्ण विरोध गरेको भन्नु भएको छ। यो अन्तरविरोध मित्रतापूर्ण हो।’
विष्णु पौडेलबाहेक सबै सचिवालय सदस्यहरूले बैठक र छलफल दुवै आवश्यक रहेको र यसमा दायाँबायाँ गर्न नहुने धारणा राखेका थिए ।
‘बैठक नै हुन्न, छलफल नै हुन्न भन्ने तपाईं को हो ?’ प्रचण्डको भन्दै उदृत गर्दै स्रोतले भन्यो, ‘तपाईले अझै पनि आफूलाई पार्टीमाथि नै ठान्नुहुन्छ ? यसरी चल्दैन । तपाईंमा अलिकति रियालाइजेसन छ कि भनेको झन् दम्भ बढेर गएको देखिएको छ ।’
प्रचण्डको समर्थनमा वरिष्ठ नेता माधवकुमार नेपाल खरोरुपमा उत्रिएका थिए। उनले ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल गर्दिन भन्दै भाग्न नपाउने बताएका थिए। उनले पार्टीमा पेश भइसकेको प्रस्तावमाथि छलफल हुनुपर्ने र पार्टीको निर्णय पनि सबैले मान्नुपर्ने अडान लिएका थिए।
उनले ओलीलाई लक्षित गर्दै भनेका थिए, ‘तपाईँमा चरम व्यक्तिवाद र गुटवाद मौलाएको छ। यो तुरुन्त त्याग्नुहोस् र पार्टीको निर्णय मान्न तयार हुनुहोस्।’
आजको सचिवालय बैठकमा ओली नआएपनि प्रक्रिया अघि बढाउने सम्भावना बढी छ । यही बैठक पछि नै नेकपा बहुमतीय मोडमा प्रवेश गर्नेछ ।
बिहीवार नेकपाको स्थायी कमिटी बैठक बस्ने कार्यतालिका तय गरिएको छ भने यही मङ्सिर २५ गते केन्द्रीय कमिटीको बैठक बस्नेछ ।