एजेन्सी ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत हिजो भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
पिएसजीले म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा ३-१ ले पराजित गरेको हो । समूह एच अन्तर्गतको खेलमा पिएसजीका लागि नेइमारले दुई तथा मार्क्वीन्होसले एक गोल गरे ।
म्यानचेस्टर युनाइटेडका लागि मार्कश रासफोर्डले एक गोल गरेका हुन् । ७३ औँ मिनेटमा फ्रेड दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो ।
नेइमारले छैटौँ र इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा गोल गरेका हुन् । मार्क्वीन्होसले ६९ औँ मिनेटमा गोल गरे । युनाइटेडका रासफोर्डले ३२ औँ मिनेटमा गोल गरेका थिए ।
पराजयपछि पनि युनाइटेड एक खेल बाँकी हुँदा ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । उसको अन्तिम १६ मा छनौट हुने सम्भावना अरु दुई क्लब पिएसजी र आरबी लेइप्जिगको जस्तै छ ।
जित निकालेको पिएसजी समान ९ अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ । बुधबार राति नै भएको खेलमा स्थानबुल बासाक्सिहिरलाई ४-३ ले पराजित गरेको आरबी लेइप्जिग पनि ९ अंकसहित समूहको तेस्रो स्थानमा छ ।