एजेन्सी ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १ सय दिन मास्क प्रयोग गर्न अमेरिकी नागरिकलाई आग्रह गर्ने बताएका छन् । बाइडनले बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि यस्तो आग्रह गर्ने बताएका हुन् । गत नोभेम्बर ३ तारिख सम्पन्न राष्ट्रपतीय निर्वाचन विजयी भएका बाइडेनले आउने जनवरी २० तारिख सपथ र पदभार ग्रहण गर्दै छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै बाइडेनले हरेक अमेरिकीले मास्क प्रयोग गरेमा कोरोना संक्रमण उल्लेख्य मात्रामा घट्ने विश्वास गरे । उनले सवै सरकारी कार्यलयमा मास्क प्रयोग गर्न निर्देशन दिने पनि बताए ।
कोरोना महामारीबाट विश्वमै सवैभन्दा प्रभावित बनिरहेको अमेरिकामा अहिले सम्म २ लाख ८२ हजार ८ सय बढीको ज्यान गइसकेको छ भने १ करोड ४५ लाख ३५ हजार बढी संक्रमणको चपेटामा परेका छन् ।
यसैबीच नवनिर्वाचित राष्ट्रपति बाइडनले खोपको सुरक्षाप्रतिको चासो निवारणका लागि आफुले पनि खोप लगाउने बताएका छन् । यस्तै पुर्वराष्ट्रपति बाराक ओबामा, जर्ज डब्लू बुस र बिल क्लिन्टनले खोप सुरक्षित रहेको सन्देश दिन सार्वजानिकरुपमा कोरोना खोप लिने बताएका छन् ।
विभिन्न खोप निर्माण कम्पनीले बनाएका खोपका लाखौ डोज वितरण गर्ने भइरहेको बेला बाइडनले राष्ट्रपतिको कार्यभार सम्हाल्दै छन् । अमेरिकाको फाइजर र जर्मनी बायोएनटेकले विकास गरेको खोपलाई बेलायतले प्रयोग गर्न अनुमति दिएपछि अहिले खोप वितरणको तयारी तिब्र भइरहेको छ ।
क्लिनिकल परीक्षणमा फाइजरको कोरोना खोप ९५ प्रतिशत र अर्को मोडेर्नाको खोपको ९४ प्रतिशत प्रभावकारी देखिएको छ । खोप वितरणको अनुमतिका लागि फाइजर र मोडेर्नाले अमेरिकी खाद्य एवं औषधी प्रशासनमा निवेदन दिइसकेका छन् ।