घोर दक्षिणपन्थीहरुको कोलाहल – Janadesh Daily | ePaper

घोर दक्षिणपन्थीहरुको कोलाहल


सत्तारुढ दल नेकपामा सैद्धान्तिक विवादले गर्दा फुटको संघारमा पुगेपछि जनपक्षिय र समाजवाद उन्मूखताबाट सरकार बिमुख हुन थालेपछि माओवादीलगायत संसद्वादी दलहरुको संयुक्त आन्दोलनले उन्मूलन हुन पुगेको राजावादी तथा राजावादी शक्ति पुनःजुर्मुराउन थालेको छन् ।

नेपाल कम्युनिष्ट पार्टीबीच देखिएको विवाद तथा नेपाली काँग्रेसमा रहेको आन्तरिक विवादले कमजोर भएको अवस्थामा मौजा छोपेर पूर्व राजाको पक्षमा काठमाण्डौँलगायत देशभरका विभिन्न जिल्लामा राजा आउँ देश बचाऊ भन्ने नारासहित जुलुस प्रदर्शन हुन थालेको छन् । र यही मौकामा पूर्व राजालाई ब्युत्याउन सकिन्छ कि भन्ने प्रयास सुरु भएको छ । यो राजा तथा हिन्दू राष्ट्र ब्युत्याउनका लागि जुलुस प्रद्धर्शनको नेतृत्व राप्रपाले गरेको छ र यसमा नेकपा र काँग्रेसको समर्थक पनि सहभागि भएकोले सबै किसिमको दक्षिणपन्थीहरुले टाउको उठाउन थालेको रुपमा लिइएको छ ।

राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा काठामण्डौँ र बुटवलदेखि विराटनगरसम्म र जनकपुरदेखि धनगढीसम्म श्रृङ्खलाबद्धरुपमा प्रद्धर्शन भएका छन् । यी प्रद्धर्शनमा उपस्थित जनसंख्याले पुरानो राजावादी शक्तिलाई उत्साहित बनाएको देखिएको छ । यसले गर्दा राजापक्षी शक्तिशाली भएको र नेपालमा राजतन्त्र उन्मूलन गरी स्थापना गरिएको गणतन्त्र व्यवस्था नै त्रुटिपूर्ण तँ रहेको छैन ? भन्ने भ्रम सुरु भएको छ ।

नेकपाको केपीशर्मा ओली नेतृत्वको सरकारले गरेको भ्रष्टचार तथा सरकारले कूशासन गरेको, जनताको समस्या समाधान हुन नसकेको, कोरोनाविरुद्ध आफै अन्योलमा रहेर प्रभावकारी कार्य गर्न नसेकेको र कोरोना महामारकिो समयमा समेत भ्रष्टचार भएको, सरकार अलमलमा परेको अवस्थाले गर्दा निराश भएको जनतालाई राजा आए देश पुनः बच्न सक्दछ भन्ने सन्देश दिन र राजतन्त्र फर्काउनका लागि यी घोर दक्षिणपन्थी ले टाउको उठाउन थालेको देखिएको छ ।

प्रमुख राजनीतिक दलहरुले राम्रो काम गर्न नसकेको अवस्थामा नेकपा तथा नेपाली काँग्रेसबीचको आन्तरिक विवादका कारण कमजोर पर्दै गएको अवस्थाले गर्दा प्रतिगामी शक्ति, राजावादीहरु उठ्न खोजेको देखिएको छ । यो कुरालाई बुझेर प्रमुख राजनीतिक शक्ति नेकपा र काँग्रेसहरु नसच्चिएमा यसरी दक्षिणपन्थीहरुको प्रभाव अरु बढ्न सक्ने जमर्काे गर्ने देखिएको छ ।

यद्यपि, विगतमा भईसकेको राजा र राजतन्त्र अब नेपालमा केहिल्यै आउन सक्दैन र यो सम्भावना अन्त्य भईसकेको छ । राजा, राजतन्त्र र हिन्दूधर्म फेरि फर्कन सक्ने अवस्था छैन तथापि, राजातन्त्रलाई पुनः ब्युत्याउन सकिन्छ कि भनि निराश भएको जनतालाई प्रतिगमनकारी तत्वले प्रभावित पारी यसबाट लाभ लिन खाजेको देखिन्छ ।

अब राजतन्त्र नेपालको लागि बिगतको विषय भईसकेको छ । यसलाई ब्युत्याउनु भनेको निधन भईसकेको व्यक्तिलाई पुनः जीवित पार्नु भनेसमान हो । अहिले न सरकारले राम्रो र प्रभावकारी काम गर्न सक्यो, नँ प्रतिपक्षले राम्रो खुट्टा टेक्न सक्यो । त्यसैले गर्दा राजावादी प्रतिगामी शक्तिलाई यो अवस्था अवसरको रुपमा बढ्दै गएको छ । अहिलेको यी प्रतिगमनकारी, राजवादी, हिन्दूधर्मवादी शक्तिको नेतृत्व राप्रपाले गरेको हो भनेतापनि यो प्रतिगमनकारीहरुको प्रमुख जिम्मेवारी भने सत्ताधारी नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसनै मुख्य रहेको देखिएको छ ।

यो आन्दोलन जनआन्दोलन २ को झ–झल्को दिनेगरी सुदूरपश्चिमाञ्चलको धनगडीमा राप्रपाले सुरु गरेको जुलुश प्रद्र्धशन गरी देशव्यापी अघि बढाउने कार्य भएको थियो । प्रमुख पार्टी नेकपा र काँग्रेसहरु आफ्नै घरझगडामा अलमलिएकोले गर्दा राजावादीहरुको यो ‘राजा आउँ, देश बचाउ’ भन्ने अभियान सफल भएको देखिएको छ । निश्चयनै राजा आएर देश बचाउने कार्य अब सम्भव छैन । तथापि राजाको नाममा केही व्यक्तिहरुले कमाउने बाटो भने अवश्य पाएको हुनुपर्दछ । अन्यथा, बिगतको शक्तिको पुनस्र्थापना हुन्छ भन्ने जस्ता मुर्खतापूर्ण कार्य अवश्य नै हुने थिएन होला । अब राजतन्त्र एकादेशको कथा भईसकेको अवस्था छ ।

हुन तँ नेपालमा राणाशासनको अन्त्य भएको केही वर्षपछिसम्म राणाशासन पुनः ब्युतिन्छ भन्ने आशमा राणावादी शक्तिहरुले कार्य गरिरहेको थिए । तर, अहिलेपनि राजा फेरी आउँछन् भन्ने सपना देखाउने काम भईरहेको छ ।

नेपालमा राजतन्त्रले मनपरी काम सुरु गर्न थालेपछि राणाशासन प्रारम्भ भई १ सय चार सम्म खोपीमा बस्नुपरेको थियो । त्यसपछि पञ्चायतको नाममा राजा निरङ्कुश हुन पुगेका थिए । पञ्चायत पतन हुँदा राजा विरेन्द्रले देखाएको केही उदारपणले गर्दा केही समयसम्म राजतन्त्र टिक्नसक्छ भनि अनुभव गरिएकोमा राजा विरेन्द्र आन्तरिक कारणले नै आफै मारिएर समाप्त भए ।

यसबाट राजतन्त्रको जगनै नराम्रोसँग हल्लिन पुगी गणतन्त्रको जग नै आधार बनेको थियो । विरेन्द्रको मृत्युपछि पूर्व राजा ज्ञानेन्द्रले पुनः एक्लौटी सर्वसत्ताबादी राजतन्त्र सुर गर्न प्रयास गरेपछि राजतन्त्र उन्मूलन हुन पुगेको थियो । राजतन्त्र कुनै बाह्य कारणबाट अन्त्य नभई आन्तरिक कारणबाट नै समाप्त भएको थियो । ज्ञानेन्द्रपछि उनको छोरा पारसले देखाएको चरित्र तथा राजतन्त्रका निकटले गरेको क्रियाकलापले नै नेपालमा संसद्वादी तथा माओवादीको संयुक्त आन्दोलनबाट राजतन्त्रको उन्मूलन भयो । अब यो उन्मूलन भईसकेको राजतन्त्रलाई पुनः फिर्ता गर्नु र राजाले मात्र देशबचाउन सक्दछन् भनि आशा गर्ने जस्तो मुर्खता र बेइमानीपूर्ण कार्य राजनीतिमा अरु हुन सक्दैन ।

अहिले हिन्दूवादी, राजतन्त्रवादी शक्तिहरु विभिन्न चिरामा रहेर प्रमुख राजनीतिक शक्तिमध्ये एक भई पशुपतिशमशेर, प्रकाशचन्द्र लोहनी र कमल थापा एक भएपछि आफूलाई शक्तिशाली बनाउन र राजतन्त्र ब्युत्याउन पुनः प्रतिगमन शक्तिलाई साकार गर्र्नको निम्ति यो कार्य हतकन्डाको रुपमा अपनाएको देखिन्छ । उनीहरुले राजाको नाममा बेइमानीपूर्ण रुपमा आन्दोलन चर्काएर जनतालाई भ्रम पारी राजा आउँ, देश बचाउन भनि जुलुश प्रदर्शन गरिरहेको छन् ।

जहासम्म राजाले देश बचाउने कुरा छ, यो राज्यलाई आजाको दुर्गतीमा पुर्‍याउने काम राजा र राजतन्त्रले पुर्‍याएको हो । २०१५ मा गरिबीको तहमा ३५ औँ तहमा रहेको नेपाललाई घटाएर विश्वको सबभन्दा गरिब ५ राज्यभित्र पुर्‍याउने काम राजाले नै गरेका हुन् । पञ्चायतको नाममा राजाले नै देशलाई दुर्गतीमा पुर्‍याउने काम गरेका थिए । र जनतालाई गरिबीको रेखामुनी पुर्‍याएका थिए ।

ज्ञानेन्द्र राजाभएपछि केही स्वतन्त्रताको अधिकार भोग्न पाएको नेपालीहरुलाई पुनः तानाशाहीमा धकेल्ने काम र नेपाललाई विदेशीको खेल खेल्ने अखडाको रुपमा ज्ञानेन्द्र र उनको परिवारहरुले नै पुर्‍याएका हुन् । देशमा भ्रष्टचारको दलदलमा पुनः भषाएर मुलुकलाई ५० वर्ष पछि धकेल्ने काम पनि ज्ञानेन्द्रले नै गरेका थिए । देशभित्र आतंकको स्थिति सिर्जना गरका थिए । अब यही यी नै राजा ज्ञानेन्द्र आएर देशलाई बचाउने भनेको के हो ? यो प्रश्न पनि प्रष्ट छ । राजा आएर अब मुलुकलाई बचाउने नभई मुलुकको अस्तित्वनै समाप्तमा पार्ने छ भनि गलत राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न थालिएको छ । अब राजाको पुनः आगमन भएमा देशलाई बचाउने नभई डुबाउने मात्र हुनेछ । अब आउने राजा पारसको अनुहार हेरेमा कस्तो राजतन्त्रको माग गरेको हुन् सो पनि प्रष्ट हुनेछ ।

राजा ज्ञानेन्द्र शाहले राजतन्त्र छोड्दा राजनीतिक दलहरुले देखाएको प्रतिबद्धता पूरा नगरेको भनि भनेको देखिन्छ । ज्ञानेन्द्रले बारम्बार दलहरुले आफूसँग गोप्य सम्झौता गरेको भनि बारम्बार आफूले मुख खोल्ने धम्की दिइएरहेको थिए । र यसै अवस्थामा यो राजा आउँ, देश बचाउ भन्ने नारा अघि आएको देखिन्छ ।

राजा ज्ञानेन्द्र भारतको भ्रमण गरी उत्तरप्रदेशको मुख्यमन्त्री योगी आदित्यको कार्यक्रम हिन्दू धर्म नेपालमा फैलाउने भनेर विदेशीको ईशारामा काम गरिरहेको हुँदा नेपालमा राजतन्त्रको नाममा विदेशी हस्तक्षेप निम्त्याउने प्रयासमा रहेको छन् । यसैले राजतन्त्र, हिन्दूधर्मसँग जोडिएको र भारतमा भाजपा र योगी आदित्य, राजा ज्ञानेन्द्रकै नाममा नेपालमा धर्मवादी राज्य बनाउने प्रयासमा रहेको छन् । र अहिलेको आन्दोलनले यही कुरा प्रष्ट गरेको छ ।

नेकपामा हाल सैद्धान्तिक समस्या हुँदा र सैद्धान्तिक रुपमा नेकपालाई कम्युनिष्ट पार्टीको रुपमा स्थापित गर्न संघर्ष भईरहेको अवस्थामा जनताले राजालाई रुचाएका छन् भनि देखाउने प्रयास भईरहेको छ । नेकपाभित्र भएको सैद्धान्तिक विवाद र कम्युनिष्ट पार्टी बनाउन भएको संघर्षलाई सत्ता प्राप्त गर्न भएको संघर्षको रुपमा व्याख्या गर्ने काम भईरहेको छ ।

तर, नेकपाभित्र भएको संघर्ष कुनै भागबन्डा वा सत्ताको लागि नभई सैद्धान्तिक कम्युनिष्ट पार्टी निर्माण गर्ने र सर्वसत्तावादलाई ब्यूत्याउन नदिनका लागि भएको संघर्ष हो । यो संघर्षलाई गलत रुपमा व्याख्या गर्ने काम भएको छ । र यो कार्यलाई हिन्द्रूवादी, राजावादीहरुले भ्रम दिएर अब नेकपाले सत्तासञ्चालन गर्न सक्दैन, यसको लागि राजतन्त्रनै फिर्ता गर्नुपर्छ भन्ने जस्ता गलत सन्देश प्रवाह गर्ने प्रयास गरेको देखिन्छ ।

राजतन्त्र आफैभित्रको आन्तरिक कारण सहजै हट्न पुग्यो । विश्वमा कहिल्यैपनि राजतन्त्र जनतासँग प्रत्यक्ष संघर्ष गर्दैन । राजालाई अहिलेपनि आफूलाई पुनः राजा बनाउँछन् भन्ने लागेको हुन सक्दछ । तर, यो राजालाई एकपटक स्वतन्त्रता भएको जनताले राजालाई पुनः फर्काउन सक्दैन र फर्किएको राजतन्त्रपनि पुनः समाप्त भएको इतिहासमा विश्वमा रहेको छ । केही लचिएर राजतन्त्रमात्र बाँचेका छन् । बेलायतमा समयअनुसार परिवर्तनभएको हुँदा राजतन्त्र टिकेको हो ।

अहिले थाइल्याण्डमा पनि राजतन्त्र समयअनुसार चलाउन नसकेको हुँदा त्यसलाई पनि विदा गर्ने अवस्थामा जनता पुगेको छन्, भने यो अवस्थामा राजतन्त्र पुनः फर्किने छ भनि आशा गर्नु, मुर्खताबाहेक अरु केही होइन । निश्चयनै राजतन्त्र अन्त्य र एकीकरणसामु नेपालको पुनःसंरचना भई विकेन्द्रीकरण भएको छ ।, संघीयता र धर्मनिपेक्षता सुरु भएको छ । तर, जनतामा अहिलेपनि सन्तुष्टि छैन ।

राजतन्त्रको अन्त्यपछि नारायणहिटीले प्रयोग गर्दै आएको अधिकार सिंहदरबारमा सरेको छ तर यो गाउँ र घरदैलोमा पुग्न सकेको पाइँदैन । जनता आफ्नो मालिक हुन आफै सकेको छैन । वर्तमान सरकारलेपनि जनता नागरिक चुनावको अवस्थामा ठान्ने तथा अन्य समय रैती ठान्ने प्रवृत्ति मौलाएकोले गर्दा जनता असन्तुष्ट भएका हुन् ।

यस्तो अवस्थामा फेरी राजतन्त्र जोगाउन सकिन्छ कि भन्ने पूर्वराजामा आशा पलाएको देखिन्छ । यसैले पनि अहिलेको अवस्थामा राजा आउँ, देश बचाउन भनि काठमाण्डौँलगायत देशको विभिन्न भागमा श्रृङ्खलाबद्ध प्रद्र्धशन भएको हुन सक्दछ । अझ ‘रअ’को उपप्रमुख तथा प्रमुख सामन्तकुमार गोयल नेपालमा आएपछि यो राजतन्त्रबादी आन्दोलन भएको हुँदा रअले यो आन्दोलन बढाउने काम गरेको हुन हो पनि आशंका पनि उत्पन्न भएको छ । रअले नेपालमा विग्रह खडा गरी नेपाललाई विभागन गर्न र नेपालमा प्राप्त भएको माओवादी संघर्षको उपलब्धिहरुलाई नष्ट गर्न चाहेको कुरा अहिले राजावादी आन्दोलनबाट समाप्त गर्न चाहको देखिन्छ ।

रअकै कारणले गर्दा नेकपाभित्र अहिले गुटबन्दी भएको, विद्रोह भएको देखिन्छ । रअकै इशारामा नेकपाभित्र माओवादीले गुटबन्दी गर्‍यो भन्ने आरोप स्थापित गर्न कोशिस गरिरहेको छ । तर, पूर्व महासचिव माधवकुमार नेपाल पार्टी एकता गरी नेकपालाई कम्युनिष्ट र समाजवादी कम्युनिष्ट पार्टीको रुपमा रुपमान्तरण गरी समाजवाद उन्मूखता तर्फ अगाडि बढीरहेको छन् । तर, रअ नेपालमा समाजवाद अगाडि बढ्नुलाई भारतको हितमा नभएकाले यसलाई नष्ट गर्न चाहन्छ । पहिला छिटो–छिटो परिवर्तन हुने गरेतापनि अहिले तीनवर्षसम्म सरकार टिकेको छ । विभिन्न तहका सरकार हुँदा बोझिलो, खर्चिलो भयो, गणतन्त्र र समाजवाद उन्मून संविधानमा नै खोट भएको छ भनि देखाउने प्रयास पनि भारतले गरेको अवस्थामा छ ।

भारत सुरुदेखिनै यो संविधानलाई घोषणा गर्न नदिई आफू अनुकूलको संविधान घोषणा गराउन चाहन्थ्यो, यसैले भारत र रअ यो संविधानसँग असन्तुष्ट रहेको हुँदा राजतन्त्रले पुनः स्थापना गर्न १९९० को संविधान ब्युत्याउन सकिन्छ भनि यो आन्दोलन सुरु गरेको हुन सक्दछ । यसै क्रममा विगत कात्तिक ६ मा ज्ञानेन्द्र शाहद्वारा दलमाथि प्रश्न उठाउँदै लिखित सन्देश दिएकोमा कात्तिक २५ मा काठमाडौँमा राजावादी आन्दोलन प्रद्र्धशन भएको थियो । यो प्रद्धर्शनको शिलशिला देशव्यापीरुपमा बढाउँदै लगेर कात्तिक २७ मा बिराटनगर, मंसिर ४ मा धनगढी, मंसिर १० मा जनकपुर र पोखरी तथा मंसिर १५ र २० मा राजधानीमा प्रदर्शन गरिने भएको छ ।

पछिल्लो एक महिनाको घटनाक्रम हेर्दा दक्षिणपन्थी एजेन्डा बोकेर व्यवस्था उल्टाउने नाराबाजी गर्दै हिँड्नेहरुले टाउको उठाईरहेको देखिएको छ । भारतको रअको उपप्रमुख र प्रमुखको नेपाल भ्रमणपछि यो दक्षिणपन्थीहरु समेत सलबलाएको देखिँदा उनीहरु भारतको इशारामानै यो कार्य तँ गरिरहेको छैनन् ? भन्ने आशंका उत्पन्न भईरहेको छ । साथै, यो राजतन्त्रवादीको दक्षिणपन्थीको आन्दोलन साथै वामपन्थीको रुपमा रहेको नेकपाको सैद्धान्तिक र समावादी पार्टी बनाउने विवादलाई पदको भागबन्डाको विवाद भनि गलत रुपमा प्रस्तुत गरी हिजोको माओवादी जनयुद्धलाई बद्नाम गर्ने तथा सशस्त्र क्रान्ति गर्ने शक्तिलाई पदको लागि भएको भन्ने देखाउने प्रयास भएको छ ।

यो राजावादी दक्षिणपन्थीहरुको तिव्र रुपमा भएको सक्रियता तथा वामपन्थीहरुबीच रहेको विवादले गर्दा नेपालमा कुनै राजनीतिक दुर्घटना हुन सक्ने खतराप्रति समेत सबैले सचेत हुन जरुरी भएको छ । यस्तो अवस्थामा स्वतनत्रताप्रेमी देशभक्त बुद्धिजीवी तथा मुलुकमा समाजवादको चाह राख्ने युवा शक्तिहरुले यो प्रवृत्तिमा हस्तक्षेप गर्नु आवश्यक भएको छ । यो राजतन्त्रको समर्थनमा भएको जुलुस प्रर्दशन नेपालमा कम्युनिष्ट क्रान्तिको विरुद्ध वा प्रतिक्रान्तिको रुपमा रहेको श्रृङ्खलाको अंगको रुपमा समेत हेर्नुपर्ने हुन्छ ।

यसैले कम्युनिष्टहरुले विशेष रुपमा यो घटनालाई लिएर सर्तक भई यस्ता प्रतिगमनकारी कार्यलाई रोकर क्रान्तिलाई अगाडि बढाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्