जनादेश, काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । नेकपा सचिवालय बैठक सुरु हुनुभन्दा अगाडि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच २० मिनेट वार्ता भएपछि ओली पनि बैठकमा सहभागी भएका छन् । २० मिनेटको छलफलपछि अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी हुन सहमत भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
असहमति बैठकमै छलफल गरौँ भन्ने प्रचण्डको आग्रहलाई स्वीकार गर्दै ओली सचिवालय बैठकमा सहभागी भएको प्रचण्डका प्रेस सल्लाहकार विष्ण सापकोटाले जनादेशलाई जानकारी दिए । बुधबारको बैठकमा भने अध्यक्ष ओली उपस्थित भएका थिएनन् । ओली बुधबारको बैठकमा आउने सहमति जनाए पनि उपस्थित नभएपछि बैठक शनिबार १ बजेका लागि सारिएको थियो ।
स्थायी कमिटीको विषय पनि सचिवालय बैठकबाटै निर्णय गर्नपर्ने पनि प्रचण्डले ओलीलाई आग्रह गरेका छन् । बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा दुई अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदन माथि छलफल भईरहेको बुझिएको छ ।
यसअघि गएको बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीको उपस्थिति नभएपछि आजको लागि समय तय भएको थियो । आजको बैठकमा पनि ओलीको अनुपस्थित रहने अड्कलवाजी चलिरहेका थिए ।
सचिवालयमा प्रस्तुत प्रतिवेदनको विषयमा अध्यक्षद्धयबीच विमति छ । प्रधानमन्त्री ओली अध्यक्ष दाहालको प्रतिवेदन फिर्ता हुनुपर्ने र नयाँ सहमतिमा साझा प्रस्ताव ल्याउनुपर्नै पक्षमा उभिएको बेला अध्यक्ष दाहालसहित बरिष्ठ नेता माधवकुमार नेपाल दुवै प्रतिवेदनलाई सचिवालय स्थायी र केन्द्रीय समितिको बैठकमा छलफलका लागि लैजान पर्ने अडानमा रहदै आएका छन् ।
नेकपाको १८ गत बोलाइएको स्थायी समिति बैठक समेत भोली बोलाईएको छ भने २५ गते केन्द्रीय समितिको बैठक बस्ने तय भैसकेको छ ।