(आध्यात्मिक गुरु खप्तड बाबा ठूला चिन्तक थिए । खप्तड बाबाकाे विचार विज्ञान पुस्तकमा विचार, बल, मस्तिष्क, इच्छाशक्ति, मानसिक स्वतन्त्रताकाे बारेमा विशेष व्याख्या गरिएकाे जुन जीवनाेपयाेगि छ । याे लेखमा साेही कुराहरू उल्लेख गरिएकाे छ ।)
-सिद्ध कौशल ।
विचारमाथि विचार गनुभन्दा पहिले त यी प्रश्न नै उत्पन्न हुन्छन्– विचार के हो ? कहाँबाट उत्पन्न हुन्छ ? तथा विचारहरुको के प्रभाव पर्दछ ? विचारहरुमा कति शक्ति छ ? विचारको स्वरुप के हो ? के रङ्ग हो ? विचारहरुलाई बदल्ने उपाय के हो ? र त्यसबाट के लाभ हुन्छ ?
वस्तुतः विचारहरुको विशेष रुप हुन्छ र रङ्ग पनि । यसै प्रकारले तिनमा जीवन शक्ति पनि हुन्छ । विचार तत्व अदृश्य छ र चर्म चक्षुद्वारा त्यो देख्न सकिदैन तापनि विचारहरुको उत्पत्ति परमाणुमय हुन्छ र ती परमाणु यति सूक्ष्म हुन्छन् भने तिनीहरुभन्दा सूक्ष्म र बेगवान् अन्य वस्तु संसारमा नै छैन । जुन वस्तु जति सूक्ष्म हुन्छ, त्यसको बल पनि उत्ति नै बढी हुन्छ । सबभन्दा सूक्ष्म हुनाको कारणले बिजुली आदि सारा वस्तुहरुभन्दा पनि विचारको नै बल बढी मानिएको छ ।
जड वस्तुभन्दा चेतन र सूक्ष्म वस्तुमा सदैव नै अधिक बल हुन्छ । जस्तो ढुङ्गाभन्दा माटो सूक्ष्म छ र माटोमा ढुङ्गभन्दा पनि अधिक बल छ । ढुङ्गभन्दा माटोमा जडता कम छ, त्यसैले ढुङ्गाको अपेक्षा माटोमा जीवनशक्ति धेरै छ । माटोभन्दा पानी अधिक सूक्ष्म छ, पातलो छ त्यसैले त्यो भन्दा पानी ज्यादा उपयोगी र बलवान्र छ । पानीभन्दा बाफ सूक्ष्म छ र बाफभन्दा वायु सूक्ष्म छ, बलवान् छ ।
वायुभन्दा आकाश अर्थात् शब्द सूक्ष्म छ र शब्दको गतिभन्दा प्रकाशको बल धेरै छ । प्रकाशको भन्दा विजुलीको बल बडी र सूक्ष्म छ । तर विजुलीभन्दा पनि विचारहरुको बल अति सुक्ष्म छ । यद्यपि विचारभन्दा पनि सूक्ष्मतर वस्तुहरु जगत्मा छन् तर तिनको ज्ञान हामीहरुलाई भएको छैन । यसैल जगत्का सबै वस्तुहरुभन्दा विचार र बुद्धि अति सुक्ष्म र बलवान् भएको वर्णन उपनिषदहरुमा गरिएको छः
“इनिद्रयेभ्यः परं मनो मनसः सत्वमुत्तमम् । सत्वादपि महानात्मा महतोऽऽव्यक्तमुत्ततम् ।। अव्यक्तस्तु परः पुरुषो व्यापकोऽविङ्ग एव च ।”
इन्द्रियहरु भन्दा पर मन छ, मनभन्दा पर बुद्धि छ, बुद्धिभन्दा महत्तत्व पर छ र महतत्वभन्दा अब्यक्त नाम प्रकृति पर छ प्रकृतिभन्दा पुरुष पर छ , यसरी एकभन्दा अर्को बढी सूक्ष्म र बलवान् छ ।
मानसिक स्वतन्त्रता मनुष्यको सबभन्दा ठूलो जित हो । सदा यही ध्यान गर्नु पर्दछ कि मैले दुःखहरूलाइ नष्ट गरिदिएँ, म स्वतन्त्र आत्मा हुँ । प्रातः काल एकान्तमा शरीरलाई स्थिर र मनलाई शान्त गरेर उपयुक्त भावनालाई मनमा बारम्बार धारणा गर र साथसाथै के कुराको निश्चय गर भने चुम्बकको समान इच्छा–शक्तिलाई साध्ना लागि मैले दृढ संकल्प गरेको छु । यस अभ्यासलाई चाहे जुन समयमा पनि गर्न सक्छौं । जो भइराखेको छ, त्यसको वास्ता नगर, सोझो उभिएर गहिरो श्वास लेऊ र भित्र आफूमा महाशक्तिको भावना गर ।
“म समर्थ छु, जुनसुकै काम पनि जब म हातमा लिनेछु त्यसलाई अवश्य पूरा गर्ने छु ।” यस मन्त्रलाई पूर्ण शक्ति र आत्म–संयमका साथ दिनमा धेरै पटक जप गर । यदि स्थिरता साथ यसलाई उपदेश मानेर अभ्यास ग¥यौभने इच्छा–शक्ति, आकर्षक–शक्ति, मानसिक–शक्ति र व्यावहारिक योग्यताको विकास, आफ्नो तथा अरूको लागि पनि गर्न सक्छौ । गर्नु, नगर्नु तिम्रो हातमा छ ।
“यादृशी भावना यस्य सिद्धि र्भवति तादृशी ।” त्यसको लागि यत्न गर । त्यसमाथि विचार गर, यत्न गर, काम गर, तत्पर होऊ, आशा राख, तिम्रो इच्छा–पूर्ति शीघ्र होला । जति शीघ्रता र निश्चयले मन त्यसमा लाग्नेछ, उति नै शीघ्रतासाथ कार्य सिद्धि हुनेछ, यसमा किञ्चित पनि सन्देह छैन । गरेर हेर । जो आत्मविजय गर्दछ, उसलाई सर्ववस्तु सुलभ हुन जान्छ । उद्योगी मनुष्यलाई अवसरको कमी हुँदैन ।
विचारहरूको उत्पत्ति स्थान मणिपूरक चक्र हो । जहाँबाट परावाणी उत्पन्न हुन्छ, उहींबाट शुभाशुभ विचार उत्पन्न भएर सूक्ष्म नाडीहरूद्वारा जब मस्तिष्कमा पुग्दछ, तब त्यसको स्पष्ट ज्ञान उत्पन्न हुन्छ । यस्तै इच्छा–शक्ति, ज्ञान–शक्ति, क्रिया–शक्ति आदिको केन्द्र पनि मणिपूरक चक्र हो । विद्युत शक्ति उत्पादनका लागि ठूला–ठूला यन्त्रहरूको आवश्यकता हुन्छ । तर हाम्रो सानो जस्तो विचार–शक्ति यन्त्रबाट कम्पन, ताप, शब्द, प्रकाश र लौह चुम्बकवत् मानसिक–शक्ति, इच्छा–शक्ति, प्रेम, क्रोध, बुद्धि, बल आदि कति शक्तिहरू उत्पन्न हुन्छन् ।
जब मस्तिष्कमा प्रेम, विरोध, प्रशंसा वा निन्दाको लहर उठ्दछ, तव त्यसले अर्काको मस्तिष्कमाथि आफ्नो प्रभाव पार्दछ । पहिलाको मस्तिष्कको प्रभावबाट दोस्राको मस्तिष्कमा प्रेम वा वैरभावना उत्पन्न हुन जान्छ । यदि तिमी कसैसँग प्रेम गछौं भने ऊ पनि तिमीसँग प्रेम गर्ला र शत्रुता गर्छौ भने शत्रुता गर्ला । धेरै जसो देखिएको छ कि जस्तो विचार तिम्रो मस्तिष्कमा अर्काको प्रति उत्पन्न हुन्छ, ठीक उस्तै विचार उसको मनमा तिमीप्रति पनि उठेको हुन्छ ।
मनको सम्बन्ध मस्तिष्कसँग छ र मस्तिष्कको भित्र जो आकाशको भाग छ त्यसमा पहिले विचार उत्पन्न हुन्छ । मस्तिष्काकाश महाकाशको व्यष्टिरूपको अवयव हो । जब विचार वा इच्छा यस मस्तिष्काकाशमा फैलिन्छ, तब त्यहाँबाट वायुद्वारा महाकाशमा फैलिन जान्छ अर्थात् इच्छा–शक्तिका सूक्ष्म धाराहरू मस्तिष्कको पर्दालाई पार गरेर अधिक बलवान् भएभने शीघ्र बाहिर निक्लेर बडो बेगले महाकाशमा फैलिन्छन् र यदि इच्छा–शक्ति निर्बल भ एभने कठिनाइले पर्दा पार गरेर आस–पासमा हराउँछन् ।
जब मनन क्रियामा मस्तिष्कले चेष्टा गर्दछ तब स्थूल मस्तिष्कमा पांशुवर्णवाला प्रकृतिका रन्धहरूको वृद्धि हुन्छ । मृत्युपछि पशु शरीरको परीक्षा गर्नाले के प्रतीत हुन्छ भने विचारशील पुरुपहरूको मस्तिष्क अरूको अपेक्षा अधिक ठूलो मात्र होइन त्यसमा आवृत्तिहरूको (Grooves) संख्या पनि धेरै हुन्छ । यी आवृत्तिहरूबाट पांशुवर्णवाला मज्जातन्तुगत प्रकृतिलाई, जो मन क्रियाको समीपवर्ती यन्त्र हो, धेरै ज्यादा स्थान मिल्दछ । यसैगरी स्थूल शरीर र स्थूल मस्तिष्क व्यायामद्वारा विकसित हुन्छन् ।
अतः जो तिनलाई उन्नत र पुष्ट गर्न चाहन्छन् उनले निरन्तर प्रतिदिन मानसिक शक्तिहरूको उन्नति र वृद्धिका लागि मनन–क्रियाको अभ्यास गर्नु पर्दछ । यसबाट स्वाभाविक शक्तिहरू पनि धेरै चाँडो उन्नत हुन्छन् र तिनको प्रभाव मानसिक तथा शारीरिक विकासहरूमाथि धेरै बेगले पर्दछ । यो अभ्यास नियमबद्ध हुनु पर्दछ, जसबाट यसको प्रभाव पूरा–पूरा भएपछि मानसिक शक्तिको वृद्धि हुन्छ र जीवनका साधारण प्रश्नहरूमाथि पूर्वापेक्षा अधिकतर विचार गर्नमा सरलता र सामथ्र्य प्राप्त हुन्छ ।
नीति एक न्यायशील वेतनाध्यक्ष हो । यो सबैलाई उति नै दिन्छ, जति उसले कमाएको छ । एक कौडी पनि त्यो अधिक दिँदैन । यसैले जो उन्नत दिव्य शक्तिरूप वेतन लिन चाहन्छन् उनले गूढ विचारद्वारा त्यसलाई प्राप्त गर्नु पर्दछ जिज्ञासुहरूलाई जुन विषयमा रुचि छ त्यस विषयको एउटा ग्रन्थ खोज्नु पर्दछ, जसको कर्ता योग्य पुरुष होस् र जसमा नयाँ–नयाँ गूढ विचार हुन् ।
यस्ता पुस्तकको एक दुई वचन सुस्त–सुस्त पढेर एकाग्र चित्तले गूढ विचार गर । तर जति समयसम्म विचार गर्छौ त्यसभन्दा दुई गुणा समयसम्म मनन गर्नु धेरै उत्तम छ किनभने पढ्नाको प्रयोजन केवल नयाँ –नयाँ विचारहरू र युक्तिहरूलाई प्राप्त गर्नु नै होइन बरू मानसिक शक्तिहरूलाई पुष्टि दिनु पनि हो । त्यसैले आधा घण्टा प्रतिदिन यस अभ्यासमा लाग्नु पर्दछ । तर नव–शिक्षकको लागि चौथाइ घण्टा (पन्त्र मिनेट) पनि धेरै छ किनभने एकाग्रतापूर्वक गूढ विचार गर्दा पहिले पहिले थकाइ महसूस हुन्छ ।(विचार विज्ञानबाट साभार)