प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यवस्था विरोधी गतिविधि बढेको भन्दै सबै एकजुट हुन आह्वान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीको रक्षा र पछिल्लो समय भैरहेका ब्यवस्थाविरोधी प्रदर्शन लगायत विषयमा छलफल भएको थियो ।
बैठकमा सहभागी दलका नेताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड-१९ को नियन्त्रण गर्न,प्राप्त उपलब्धीहरुको रक्षा गर्न,संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन आह्वान गरेका हुन् । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता रहेको थियो ।
बैठकमा सहभागी प्रमुख विपक्षी दलका नेता शेर बहादुर देउवा लगायतका नेताले पहिले सरकार र प्रधानमन्त्री ओलीको व्यवहार र कार्यशैली सच्चिनु पर्ने सुझाव दिएका थिए ।
सरकारको कमजोरी तथा अर्कमण्यताका कारण देशभर जनतामा असन्तुष्टि बढेको र त्यसको परिणाम सडकमा देखिन थालेको तथा केही पक्षहरुले त्यसलाई आफ्नो हित अनुकूल प्रयोग गर्न थालेको दलका नेताहरुले बताएका हुन् । नेपाली कांग्रेससहितका विपक्षी दलका नेताहरुले सरकार जनताको भावना विपरीत चलेको र जनता अपेक्षा अनुसार काम गर्न असफल भएको बताएका थिए ।
प्रधानमन्त्री ओलीले सबै आलोचना तथा सुझावलाई सकारात्मक रुपमा लिएको र आगामी दिनमा त्यसलाई सम्बोधन गर्ने गरी काम गर्ने बताएको नेताहरुले जानकारी दिएका छन् । तर उनले केही आरोपहरु भने आधाहीन रहेको जवाफ फर्काएका थिए ।
बैठकमा राप्रपाले राजसंस्थाको पक्षमा भइरहेको सडक आन्दोलनमा आफ्नो नैतिक समर्थन रहेको स्पष्ट पारेको थियो । राप्रपाका तर्फबाट नेता दीपक बोहोराले आफूहरू संविधानविरोधी नभएकाले राजसंस्थालगायतका राप्रपाका केही एजेण्डामै केन्द्रित भई छलफल हुने गरी अर्को सर्वदलीय बैठक बोलाउन प्रस्ताव गरेको बताए ।