एजेन्सी ।
लियोनल मेस्सीको बार्सिलोनालाई पराजित गरेर क्रिष्टियानो रोनाल्डोको युभेन्टस च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह विजेता बन्न सफल भएको छ ।
समूह जी अन्तर्गत मंगलबार राति भएको खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्टसले मेस्सीसहितको बार्सिलोनालाई उसकै मैदानमा ३-० ले पराजित गरेको हो ।
रोनाल्डोले दुवै गोल पेनाल्टी मार्फत गरेका हुन् । उनले १३ र ५२ औँ मिनेटमा गोल गरे । यस्तै २० औँ मिनेटमा युभेन्टसका लागि वेस्टन म्याकेनीले गोल गरे ।
रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म १३४ गोल गरेका छन् । बार्सिलोना सन् २०१६ यता पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणमा पराजित भएको हो ।
यो समयका विश्वका दुई उत्कृष्ट खेलाडीका रुपमा लिइने बार्सिलोनाका लियोनल मेस्सी र युभेन्टसका रोनाल्डो सन् २०१८ को मे पछि पहिलोपटक आमने सामने भएका हुन् । त्यसमा रोनाल्डोले गोल पनि गरे र टिमलाई जिताए पनि ।
रोनाल्डोले दुई गोल गर्दा मेस्सी भने युभेन्टसका ४२ वर्षे गोलरक्षक जियानलुइजी बुफोनबाट निराश भए । बुफोनले पाँचपटक सुन्दर बचाउ गरे ।
मेस्सी र रोनाल्डोले समग्रमा ९ पटक च्याम्पियन्स लिग जितेका छन् र कुल २५२ गोल गरेका छन् ।
तर मंगलबारको खेल रोनाल्डोका लागि विशेष रह्यो । उनले च्याम्पियन्स लिगमा मेस्सी मैदानमा रहेका बेला बार्सिलोनाविरुद्ध पहिलो पटक गोल गरेका हुन् ।