जनादेश वाच ।
फुटको झण्डै २ वर्षपछि साझा पार्टी र विवेकशील दल आज फेरि जुट्ने भएका छन् । बुधबार एकताको घोषणा गरिने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको दुवै पक्षका नेताले जानकारी दिएका छन् ।
विवेकशील दलकी नेता रञ्जु दर्शनाका अनुसार बुधबार दिउँसो साढे ३ बजे भर्चुअल कार्यक्रम गरी एकता घोषणा गर्न लागिएको हो ।
पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने गरी एकवद्ध हुन लागेको र केन्द्रीय समितिमा ६५-६५ जना रहने सहमति भैसकेको पनि दर्शनाले जनादेशलाई बताइन् ।
दुवै पक्षले समानता, सहअस्तित्व र दुवै पक्षको जित हुने गरी एकता गर्न लागिएको उनको भनाइ छ।
पार्टीको चुनाव चिह्न तराजु, पार्टीको नाम विवेकशील साझा पार्टी बनाउनेसमेत सहमति भइसकेको छ। संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायतका मुद्दालाई प्रगतिशील मुद्दाको रुपमा उठाउने समझदारी गरिएको छ।
एकीकरणको सत्र महिना नपुग्दै विवेकशील साझा दल २ हजार ७५ सालको पुस २७ मा विभाजन भएको थियो ।
विवेकशील साझा दलका तत्कालीन नेताद्वय रविन्द्र मिश्र र उज्वल थापाको कार्यशैली नमिल्नु नै पार्टी फुटको कारण रहेको त्यतिबेला बताइएको थियो । मिश्रले पार्टीलाई वैकल्पिक शक्तिका रूपमा अघि बढाउन नसकेको थापा समूहको आरोप थियो छ।