कमानसिंह लामाको निधनपछि किन परे नारायणकाजी विवादमा – Janadesh Daily | ePaper

कमानसिंह लामाको निधनपछि किन परे नारायणकाजी विवादमा


जनादेश वाच ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाको निधनपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई विवादमा ल्याउन खोजिएको छ ।

लामाको निधनसँगै एउटा विवादित लेनदेनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम मुछिएपछि आलोचकहरुले नारायणकाजीविरुद्ध फायर खोलेका छन् ।

कमानसिंह लामाको कोरोना भाइरसका संक्रमणका कारण शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहान निधन भएको थियो ।

कोरोना लागेपछि १६ दिनदेखि उनी अस्पतालमै रहेका उनले अन्तिम समयमा लेखेका फेसबुक स्ट्यास लगायतका कुरालाई लिएर कतिपयले नारायणकाजीमाथि गम्भीर आरोप समेत लगाएका छन् ।

स्वर्गीय कमानसिंह लामा

एउटा विवादित लेनदेनमा नारायणकाजीले मध्यस्थता गरेकोभन्दै श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ ।

सनराइज खबर डटकम भन्ने अनलाइनले “नारायणकाजी श्रेष्ठका कारण दर्दनाक बनेको थियो कमानसिंहको जीवन” शीर्षकमा एक समाचार प्रकाशित गर्दै उनीमाथि लागेका आरोप पुष्टि हुने दाबीसहितका अडियो र भिडियो सामग्री प्रकाशित गरेको छ ।

भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम लिएको देखिन्छ । श्रेष्ठले दुवै जनालाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाब दिएका छन् ।

के भन्छन् त नारायणकाजीः
नेकपा प्रवक्ता श्रेष्ठले आफूमाथि लगाउन खोजिएका आरोपको कुनै आधार नभएको दाबी गरेका छन् । चरित्र हत्या गर्न खोज्नेहरुले प्रयास गरेपनि आफू जुनसुकै छानविनको दायरामा आउन तयार रहेको उनको भनाई छ । कमानसिंह र आफू लामो समयदेखिको सहयोद्धा रहेको र एउटा हाइड्रोको सेयरको विवादमा सम्बन्धित पक्षकै अनुरोधमा मध्यस्थता गर्न खोजेको स्पष्टिकरण श्रेष्ठले दिएका छन् ।

उनले विहीबार एक दैनिक पत्रिकासँग भनेका छन्, “म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ । मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दु:खी हुनेमध्ये म पनि एकजना हुँ” ।

मृत्यु हुनु अघि कमान सिंह लामाले फेसबुकमा आफू मरेको अवस्थामा नआउनू भनेरसमेत इन्द्रमायालाई लक्षित गरेर स्ट्याटस लेखेका थिए । कोरोनाबाट संक्रमण भएपछि लामाले असन्तुष्टि मिश्रित स्टाटस सामाजिक सञ्जालमा राख्दै आएका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्