व्यावसायिक बङ्गुरपालनबाट आम्दानी राम्रो – Janadesh Daily | ePaper

व्यावसायिक बङ्गुरपालनबाट आम्दानी राम्रो


देउखुरी ।
व्यावसायिक बङ्गुरपालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हुँदै आएको छ । सस्तो र कम खर्चमा पनि आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिकरुपमा बङ्गुरपालन फस्टाएको छ ।

घोराही उपमहानगरपालिका–१० निवासी सीता चौधरीले आठ वर्षदेखि घोराही–१७ गैरागाउँमा व्यावसायिकरुपमा बङ्गुरपालन शुरु गर्नुभएको हो । पन्ध्र कट्ठा जग्गाको वार्षिक ५० हजार रुपैयाँका दरले भाडामा लिएर व्यवसाय शुरु गरेको दुई वर्षमा आम्दानी लिन शुरु गरेको उहाँ बताउनुहुन्छ । “पचास हजारको लगानीमा १२ वटा पाठापाठीबाट शुरु गरेको व्यवसायमा अहिले १७ वटा माउ, १०५ वटा पाठापाठी र दुई भाले छन् । एउटा माउले वर्षमा दुईपटक बच्चा दिन्छ र चार वर्षसम्म निरन्तर दिइरहन्छ । एक पटकमा १५ देखि १६ सम्म बच्चा दिन्छ । तीन महिना तीन हप्ता तीन दिनमा बङ्गुरले बच्चा दिने गरेको चौधरीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “२५ प्रतिशत जिल्ला बाहिर जान्छ भने अरु सबै जिल्लाभित्र बिक्री भइरहेको छ । पैतालीस दिनको पाठापाठी रु पाँच हजारका दरले बिक्री हुने गरेका छन् । खर्च कटाएर वार्षिक रु आठ लाख आम्दानी हुने गरेको छ ।” घोराही बजारका १० होटलबाट दानाको व्यवस्था गरेको र दाना दिएबापत होटललाई मासिक रु एक हजार दिने गरेको सीता बताउनुहुन्छ ।

राप्ती गाउँपालिका–२ बराखुट्टीका हेमलाल सार्कीले पाँच वर्षदेखि बङ्गुरपालन व्यवसाय गर्दै आउनुभएको छ । पाँच वर्ष वैदेशिक रोजगारीमा गएको र त्यहाँ कमाएको पैसा जम्मा गरेर आफ्नै गाउँठाउँमा काम गर्न मन लाग्यो र “विदेशी भूमिमा काम गर्नुभन्दा थोरै भए पनि आफ्नै भूमिमा काम गर्नु उत्तम हुने देखेर यता लागेको हुँ । सानो, ठूलो नभनी आफ्नो लगानीमा गाउँघरमा काम गर्दा आनन्द लागेको छ”, सार्कीले भन्नुभयो । चार वटादेखि शुरु गरेको अहिले ठूला ३० वटा, ७० साना पाठापाठी र दुई वटा भाले छन् । दुई जना स्थानीयलाई रोजगारी दिएको उहाँले बताउनुभयो ।

बच्चा उत्पादन गर्ने माउलाई छुट्टै खोरमा राखेको र उत्पादन भएका बच्चा घरबाटै बिक्री हुने गरेका छन् । बिक्री नभएका पाठापाठी ठूला भएपछि मासुका लागि बिक्री हुने गरेका छन् । ठूला बङ्गुर मासुका लागि प्रतिकिलो ३०० रुपैयाँका दरले बिक्री हुने गर्छन् । खर्च कटाएर वार्षिक १२ लाखभन्दा धेरै आम्दानी हुने गरेको छ ।

घोराही उपमहानगरपालिका पशु सेवा कार्यालय प्रमुख जीवराज पौडेलले घोराही क्षेत्रमा ३५ बङ्गुर फार्म दर्ता भएको बताउनुभयो । ‘‘प्रदेश सरकारको यस वर्ष ‘बङ्गुर प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत पाँच वटा समूहका ५० जना कृषकलाई उन्नत जातका पाठापाठी उपलब्ध गराउने कार्यक्रम रहेको छ । दाङको हावापानी सुहाउँदो पाख्रीबास, लैडरस, डिउरो, योर्कसायर जातका बङ्गुर पालिएका छन् । बङ्गुरले छिटोछिटो बथानको सङ्ख्या बढाउने भएकाले छोटो समयमा राम्रो आम्दनी दिने भएकाले यसको व्यवसाय फस्टाएको हो ।

लमही नगरपालिका पशु सेवा कार्यालय प्रमुख शिवराज न्यौपानेले लमहीमा ३० वटा बङ्गुर फार्म दर्ता भएको बताउनुभयो । बङ्गुरपालक किसानले वर्षमा १२ देखि १५ लाखसम्म आम्दानी गरेका छन् । एउटा बङ्गुरले वर्षमा कम्तीमा पनि रु ५० हजार आम्दानी दिने गरेका छन् । ‘प्रदेशको सरकारको ‘बङ्गुर मिसन कार्यक्रम’ अन्तर्गत लमही नगरपालिकाको वडा नं ३, ६, ८ मा प्रस्ताव आह्वान गरेका छौँ । गत वर्ष नश्ल सुधार कार्यक्रमअन्तर्गत खुमलटारबाट ल्याएर १० वटा (विर) भाले बङ्गुर वितरण गरेका थियौँ, यस वर्ष पनि त्यसलाई निरन्तरता दिने कार्यक्रम रहेको बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्