कांग्र‍ेसले यसरी तुहाइदियो सरकार बलियो रहेको सन्देश दिने ओलीको प्रयास – Janadesh Daily | ePaper

कांग्र‍ेसले यसरी तुहाइदियो सरकार बलियो रहेको सन्देश दिने ओलीको प्रयास


जनादेश वाच ।

पार्टी बैठकमा नजानका लागि व्यस्त भएको कारण देखाउन र सरकार बलियो भएको देखाउन प्रधानमन्त्री केपी ओलीले गरेको अन्तिम प्रयास पनि असफल भएको छ । नेकपाभित्रको शक्तिसंघर्षको मोर्चाकैरुपमा संवैधानिक परिषद्को बैठकलाई उपयोग गर्ने ओलीको प्रयत्नलाई विपक्षी नेपाली कांग्रेसले तुहाइदिएको हो ।

पार्टीभित्रको विवाद चर्किरहेकै वेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श विनै संबैधनिक नियुक्तिको एजेन्डा राखेर प्रधानमन्त्री ओलीले आइतबार बिहान परिषद्को बैठक बोलाएका थिए । तर, अन्तिम समयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सहभागी नहुने सूचना दिएपछि बैठक प्रभावित भएको छ ।

फाइल तस्विर

देउवा बैठकमा नजाने भएपछि आइतबारको परिषद्को बैठकमा गणपूरक संख्या नै नपुग्ने अवस्था छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले ओली अहिले संकटमा परेको र पार्टीभित्रको विवाद हल नभएसम्म परिषद् बैठकमा नजान देउवासँग आग्रह गरेका थिए ।

स्रोतका अनुसार यही आग्रहपछि देउवाले पार्टीभित्र छलफल गरी परिषद् बैठकमा नजाने निर्णय लिएका हुन् । प्रमुख प्रतिपक्षी दलका नेता संवैधानिक परिषदमा पदेन सदस्य रहने व्यवस्था छ। प्रधानमन्त्री ओली र देउवाबीच शुक्रबार बेलुका पनि भेट भएको थियो।

नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन चर्काइरहेका बेला प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासमेत सहभागी हुने परिषद्को बैठकबाट महत्वपूर्ण संवैधानिक निकायमा नियुक्ति गर्नका लागि परिषद्को बैठक राखेपछि कांग्रेस सभापति देउवा बैठकमा सहभागी हुने संभावना छैन ।

कांग्रेसले सरकारको विरोधमा सोमबार सबै ७७ जिल्लामा विरोध प्रदर्शन गर्दैछ। केहि दिनयता नेपाली कांग्रेसका नेताहरु त्यसको प्रचार प्रसारमा लागिरहेका छन्।

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बिभिन्न संवैधानिक आयोगहरुमा प्रमुख आयुक्त तथा आयुक्तहरु गरी ४५ पद रिक्त छन्।

ती पदमा नियुक्तिका लागि सिफारिश गर्न संवैधानिक परिषद् डाकिएको हो । स्थायी कमिटी बैठक जारी रहेको र पार्टीभित्र लगातार दबाबको सामना गरिरहेका प्रधानमन्त्री ओलीले विपक्षी दललाई समेत सहमतिमा ल्याएर विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्ति गर्ने र पार्टीभित्रका विरोधी समूहलाई दबाबमा राख्ने रणनीति बनाएका थिए । तर यो योजनालाई पार्टीकै नेता र विपक्षी दलले तुहाइदिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्