माधव नेपालका सिधा कुराः पार्टी फुट्दैन ओली जान सक्छन्, पुस्तान्तरण गर्ने भए पहिले राजीनामा देउ – Janadesh Daily | ePaper

माधव नेपालका सिधा कुराः पार्टी फुट्दैन ओली जान सक्छन्, पुस्तान्तरण गर्ने भए पहिले राजीनामा देउ


जनादेश मिडिया वाच ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले नेकपा नफुट्ने दाबी गरेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नेता नेपालले पार्टीका विधि पद्धति नमान्ने र दम्भले अरुलाई तर्साउन खोज्नेहरु बाटो लाग्न सक्ने तर नेकपा एक जुट रहने उनको दाबी छ ।

हिमालय टेलिभिजनको ‘यक्ष्य प्रश्न’ भन्ने कार्यक्रममा आइतबार राजेन्द्र वानियाँसँग कुरा गर्दै नेता नेपालले ओलीको कटु आलोचना गरे भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बचाउ गरे ।

नेकपाको अहिलेको अवस्था ओलीका कारण आएको बताउँदै नेता नेपालले ओली नसच्चिए आफूहरु पछि नहट्ने संकेत गरे । ओलीले चहेपनि नचाहेपनि पार्टीमा अव विधिको निर्णय सुरु हुने र त्यसको सम्भावित परिणामका लागि आफूहरु तयार रहेको संकेत पनि उनले गरेका छन् ।

प्रचण्डको प्रस्तावको बचाउ गर्दै नेता नेपालले प्रतिप्रश्नको वर्षा गरेका थिए, फायर खोल्ने को? आफू सरहका नेताहरुलाई होच्याउने को, मलाई सार्वजनिक अपमान गर्ने को ? आफूलाई सर्वेसर्वा ठान्ने को ?’ ।

ओलीको मनोमानी अब नचल्ने बताउँदै नेता नेपाले राजालाई दाम चढाएको देखि बालुवाटार जग्गा काण्डसम्मका प्रकरणमा आफूलाई विवादमा तान्नु अनावश्यक र अनर्गल भएको दाबी गरेका छन् ।

एमाले बनाउन आफ्नो लामो योगदान रहेको बताउँदै उनले केही भोटले महाधिवेशनमा चुनाव जितेकै भरमा ओलीले आफूलाई अति अपमान गरेको उनको भनाई थियो ।
ओलीलाई छोडेर प्रचण्डसँग किन लहसिएको भन्ने प्रश्नमा माधव नेपालले प्रतिप्रश्नको वर्षा गरेका थिए । ‘मलाई प्रचण्डसँग मिलेर एक्ल्याएको होइन? मैले नोट अफ डिसेन्ट लेख्दा लेख्दै पेलेर निर्णय गराएको होइन? विदेशमा भएको बेला प्रदेशका पदहरु बाँडेको होइन?’ माधव नेपालले ओलीसँगको तिक्तता व्यक्त गर्दै दर्जनौं प्रश्न गरे ।

ओलीले नेतृत्वमा पुस्तान्तरणको पासा रणनीतिक दाउकोरुपमा फ्याकेको बताउँदै माधव नेपालले आफूले राजीनामा गरेर मात्र अरुलाई मार्ग प्रदर्शन गर्न सकिने बताए । ‘आफूले डकारुन्जेल खाने अनि छोड्ने बेलामा पुस्तान्तरण गर्छु भन्ने’, आक्रोशित मुद्रामा माधव नेपालको प्रश्न थियो ।

ओलीले प्रचण्डसँगबाट प्रधानमन्त्री पद पाउनका लागि जनताको बहुदलीय जनवाद छोडेको तर अहिले आफू नै रक्षक भएको जस्तो गरी प्रचार गरिरहेको भन्दै नेता नेपालले आक्रोश व्यक्त गरे ।

नेता नेपालले प्रचण्डसँग दुई पटकसम्म प्रधानमन्त्री कार्यकाल आधा-आधा गर्ने भनेर गरेको सम्झौता ओलीले तोडेको बताउँदै  अब ओलीसँग कुनै सम्झौता गर्न नसकिने बताए । ओलीलाई विश्वास नै गर्न नसकिने उनको स्पष्ट धारणा थियो ।

कार्यक्रम अवधिभर नेता नेपालले ओलीप्रति आक्रोश र असन्तुष्टि व्यक्त गरेका थिए भने प्रचण्डको बचाउ गरेका थिए । उनले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि अनावश्यकरुपमा विवादमा ल्याउन खोजिएको भन्दै आपत्ति जनाए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्