एजेन्सी ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जितले औपचारिकताका सबै चरण पूरा गरेको छ । देशभरका इलेक्टोरल कलेज सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् ।
योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नका लागि बाइडेनको अन्तिम औपचारिकताको चरण पनि पूरा भएको छ । उनको जितले आधिकारिकता पाएको छ ।
गएको नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका हुन् । यस्तै २३२ इलेक्टोरल कलेज मत पाएका राष्ट्रपति डोनाल्ड ट्रम्पको पराजयले पनि औपचारिकता प्राप्त गरेको छ ।
अमेरिकी प्रणाली अनुसार मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोलर कलेज सदस्यहरुले राष्ट्रपतिका लागि मत दिन्छन् ।
बिना कुनै प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका राष्ट्रपति ट्रम्पले नतिजा स्वीकार गरेका छैनन् । उनले आफू इलेक्टोरल कलेज मतमा विजयी हुने दाबी गर्दै आएका थिए ।
विभिन्न प्रतिस्पर्धात्मक राज्यमा नतिजा उल्याउनका लागि गरेको ट्रम्पको प्रयास असफल भयो । उनले दायर गरेका मुद्दा प्रमाणको अभाव र आधारहिन आरोप भन्दै तल्लो देखि सर्वोच्च अदालतसम्मले खारेज गरेका छन् । तर पनि ट्रम्पले नतिजा भने स्वीकार गरेका छैनन् ।
अब बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन् ।