जनादेश वाच ।
सरकारका गलत काममा मुक दर्शक बनेको भनेर आलोचना खेपेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार ७७ वटै जिल्लामा सरकारविरुद्ध शक्ति प्रदर्शन गर्यो ।
बिभिन्न जिल्ला पुगेका कांग्रेस शीर्ष नेताहरुले सरकारलाई विभिन्न विषयलाई लिएर आलोचना र खवरदारी गरेका छन् । तर कांग्रेसको प्रदर्शनमा सरकार मात्र नभएर राष्ट्रपतिकै समेत आलोचना भएको छ । नेताहरुले बालुवाटारमात्र होइन शितल निवासलाई पनि सचेत गराएका छन् ।
कांग्रेसजनले केपी शर्मा ओलीको सरकारमा भएका भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकारको असफलता, नेकपाको आन्तरिक द्वन्द्व र त्यसका कारण राजतन्त्रको पक्षमा सडकमा भएको प्रदर्शन लगायतका विषयमा आफ्ना भाषण केन्द्रित गरेका थिए ।
प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार भइरहेको र सरकारको असफलताका कारण राजावादीहरु व्यवस्थाविरुद्ध नै सडक प्रदर्शनमा उठेको भन्दै कांग्रेस नेताहरुले ओलीप्रति नै बढि आक्रोश व्यक्त गरेका थिए ।
मकवानपुरको हेटौडामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले ओली सरकारबाट आजित भएका जनता ‘राजा आऊ देश बचाऊ’ जस्ता नारा लगाउन थालेको भन्दै ओलीको कटु आलोचना गरे । कोरोना महामारीका बेला कम्युनिष्ट सरकारले केही नगरेपछि मानिसहरु विकल्पको रुपमा ‘राजा आऊ देश बचाऊ’ भन्न थालेको उनको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंकासमेत देउवाले व्यक्त गरेका छन् । उनले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै सरकारको चर्को आलोचना गरे ।
काठमाडौँमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार संविधान र व्यवस्थालाई कमजोर बनाउन लागि परेको आरोप लगाए । पौडेलले सरकार भ्रष्टाचारमा लागेको, जनताबाट टाढा भएको कुरा विपक्षीले भनिरहनु नपर्ने बताए ।
राष्ट्रपतिलाई चुनाव लड्ने चुनौति
धनगढीमा सरकारविरुद्ध गरिएको प्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता गगन थापाले नेकपाको सरकारले जनताका लागि केही गर्न नसकेको आरोप लगाए । थापाले केपी ओली नेतृत्वको सरकारले मनोमानी गरिरहेको भन्दै ठेगानमा ल्याएरै छोड्ने चेतावनी दिए ।
नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई महारानी सम्झिन थालेको भन्दै आलोचना गरेका थिए । राष्ट्रपति भण्डारीले राष्ट्रपतिको मर्यादा र गरिमा कायम राख्न नसकेको र नेकपाको नेताका रूपमा आफूलाई प्रस्तुत गरिरहेको भन्दै आलोचना गरेका उनले राष्ट्रपतिलाई हिम्मत भए काठमाडौंमा चुनाव लडेर देखाउन पनि चुनौती दिएका छन् ।
सुतेको बाघ व्युउँझिएको दाबी
हेटौंडाको प्रदर्शनपछि सभामा बोल्ने क्रममा कांग्रेस प्रवक्ता नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले सुतेको कांग्रेसलाई नजिस्क्याउन सरकारलाई चेतावनी दिए । कांग्रेसलाई जिस्क्याउनु भनेको सुतेको बाघलाई जिस्क्याउनु सरह भएको टिप्पणी गर्दै प्रवक्ता शर्माले सरकारलाई चुपचाप सघाएकै अवस्थामा अब काग्रेस सडकमा आएकोले अब धेरैको निन्द्रा हराउने चेतावनी दिए ।
कांग्रेस नेताहरुले राजावादीहरु सडकमा आएकोमा आक्रोश व्यक्त गर्दै ब्यवस्था विरुद्धभन्दा पनि कुशासनको विरुद्ध लाग्न सबैलाई अपील गरेका छन् ।
सानेपाको कलहदेखि सडकको शक्ति प्रदर्शनसम्म
केही समय अघिसम्म कांग्रेसका शीर्ष नेताहरू आपसी कलहमा व्यस्त थिए । महाधिवेशनको मिति घर्किन लागिसक्ता पनि उनीहरू सानातिना विवाद निकालेर पार्टीकै अस्तित्व संकटमा पर्नेगरी बखेडा गरिरहेका थिए । तर वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दमौली घटना नभएको भए सायद कांग्रेस यसरी राष्ट्रव्यापी जनप्रदर्शनमा उत्रने पनि थिएन । बरु, संवैधानिक निकायमा नियुक्तिमा भागबण्डा गर्न सभापति देउवाको बढी रुचि देखिएको थियो । तर सोमबारको प्रदर्शनले देशमा विपक्षी छ है भन्ने अनुभूति गराउन कांग्रेस सफल भएको छ ।
सदन बन्द भएपछि कांग्रेसले सरकारविरुद्ध संस्थागत रूपमा आक्रोश व्यक्त गर्न पाएको थिएन । त्यसैल उसले सडकबाटै संस्थागत रूपमा सत्ताको सशक्त प्रतिवाद गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रशासनले धरपकड गरेपछि सत्तासँग कांग्रेस झनै रुष्ट देखिएको थियो । देशव्यापी प्रदर्शनमा कांग्रेसले ‘सत्ताको सर्वसत्तावादी चरित्र’, भ्रष्टाचारसँगै राष्ट्रपतिको भूमिकामाथि पनि आक्रोश पोखेको छ ।
अब संसद खोज्न सुझाव
विश्लेषकहरुले कांग्रेसलाई अब संसदको बाटो खोज्न सुझाव दिएका छन् । कांग्रेसले संसदमा कसरी प्रस्तुत हुने भनेर समाजका विभिन्न समूहसँग छलफल थाल्नु उचित हुने उनीहरुको भनाई छ ।
ओली सरकारको निरंकुशता/कुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार/कर्तव्य हुन्छ। अब सदन बोलाउन पहल गरौं।जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक+सदनमा गर्जन्छ!
— Baburam Bhattarai (@brb1954) December 14, 2020
जानकारहरु भन्छन् सुधारिएको संसदीय व्यवस्थाको वकालत गर्दै आएको कांग्रेसले सरकारलाई मात्रै होइन संसदलाई पनि सुधारोस् । र आफूलाई पनि सुधारोस् ।