जनादेश, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा फुट्ने चर्चा चलिरहँदा पार्टीका तर्फबाट विभिन्न पदमा रहेका व्यक्तिहरुमाथि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले दबाब बढाएका छन् ।
पूर्वमाओवादी पक्षका नेताहरुलाई विशेष टार्गेट गरेर ओलीले बढाएको दबाबलाई उनीहरुले भने अनेदेखा गरिदन थालेका छन् । पार्टीको आन्तरिक विवादमा असन्तुष्ट पक्षतर्फ लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलका मुख्य सचेतक देव गुरुङ राजीनामा गर्न निर्देशन दिएका थिए ।
तर गुरुङले भने आफूलाई पार्टीले उक्त पदमा स्थापित गरेको भन्दै कसैले चाहँदैमा राजीनामा नदिने जवाफ फर्काएको श्रोतले बताएको छ । दुई दिन अघि बालुवाटारमा बोलाएर ओलीले गुरुङलाई राजीनामा दिन निर्देशन दिएपनि गुरुङले प्रधानमन्त्रीको निर्देशन अस्वीकार गरेका हुन् ।
पार्टीले दिएको दायित्व पार्टीले मात्र लिन सक्छ भन्ने गुरुङको जवाफ थियो । गुरुङले पार्टीको हालको अवस्थाबारे अरुले जसरी नै आफूले पनि टिका टिप्पणी गरेको तर मुख्य सचेतकको भूमिका निर्वाहमा कानुन र नियम विपरित नगएकाले राजीनामाको माग असान्दर्भिक भएको जवाफ दिएका थिए।
प्रधानमन्त्रीले एकलौटी गर्न थालेपछि नेकपाभित्रका पूर्व माओवादीले प्रधानमन्त्रीको अवज्ञा गर्न थालेका छन् । मंगलबार विहान बोलाइएको संबैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित रहेका थिए ।