जनादेश, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद नयाँ उत्कर्षमा पुगेको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यादेश खारेज नभए दुर्घटना निम्तिने चेतावनी दिएका छन् । ओलीले पार्टीमा परामर्श नै नगरी अध्यादेश ल्याएको भन्दै प्रचण्डले तत्काल खारेज गर्न आग्रह गरेका हुन् । पार्टीमा कुनै छलफल बहस नगरी अध्यादेश ल्याउने विषय कुनै हालतमा उचित मान्न नसकिने चेतावनी दिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जनादेशलाई बताए । संसद अधिवेशन बोलाउन माग गरेकै बखत फेरि अध्यादेश ल्याएको भन्दै प्रचण्डले आपत्ति जनाएका छन्। पार्टीमा विभाजनबाट आफूले पटक(पटक रोकेको बताउँदै प्रचण्डले ओलीले पार्टी विभाजन गर्न उद्यत रहेको बताएका छन्।
आकश्मिक मन्त्रिपरिषद्ब बैठक बसेको केही क्षणमै राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह अध्यादेश जारी गरेकी थिइन् । प्रचण्डले संसद बैठक बस्न १८ दिन मात्रै बाँकी रहेका बेला आफूहरुसँग कुनै पनि सल्लाह र परामर्श नगरी पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको र त्यो तत्काल फिर्ता हुनुपर्ने माग गरेका हुन् ।
यसैबीच अध्यादेशलाई लिएर ओलीविरुद्ध उत्रिएका आफ्ना समूहका सदस्यहरुसँग छलफल गर्न प्रचण्डले आजै आकस्मिक बैठक बोलाएका छन् । बैठक बस्ने तयारी भइरहेको उक्त समूहका नेता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
प्रचण्ड निकट स्थायी कमिटी सदस्य जनार्दशन शर्माले पनि अध्यादेशलाई लिएर आपत्ती जनाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन्,‘सत्ता स्वार्थको परकाष्ठा किन रु छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ१ अध्यादेश फिर्ता गर।’