एजेन्सी ।
चीनले अन्तरिक्षको प्रतिस्पर्धा र चन्द्र अध्ययनमा महत्वपूर्ण सफलता हासिल गरेको छ । चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको हो ।
चीनको अन्तरिक्षयान च्याङ्ग’इ-५ को कार्गो सफलता पूर्वक चन्द्रमाको माटो र ढुंगा लिएर बुधबार पृथ्वीमा फर्किएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सी सिएनएसएका अनुसार यानको कार्गो मङ्गोलियाको घाँसे मैदानमा अवतरण भएको हो ।
चन्द्रमाबाट त्यहाँको नमूना ल्याउने यो पछिल्लो ४४ वर्षमा विश्वको पहिले सफल अभियान हो । तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले ४४ वर्ष पहिले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो ।
चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल राष्ट्रको सूचिमा चीनको नाम थपिएको छ । यसअघि अहिलेसम्म अमेरिका र रुसले मात्रै यस्तो गर्न सकेका थिए । यो अभियान सफल भएसँगै चीन पनि अन्तरिक्षको महाशक्तिमा सामेल भएको छ ।
चीनले यसभन्दा पहिला नै दुईपटक चन्द्र अवतरण गरिसकेको छ । चीनको पहिलो चन्द्र मिसन च्याङ्ग’इ– ३ को ‘ल्याण्डर’ र यन्त्र मानवले सन् २०१३ मै चन्द्र धरातल छोएर चीनलाई यो कार्य गर्ने पृथ्वीको तेस्रो राष्ट्र बनाएको थियो।
गत वर्ष २०१९ को प्रारम्भमै चीनको चन्द्र अभियान चेन्ज ४ को ‘ल्याण्डर’ र यन्त्रमानवले चन्द्रमाको पृथ्वीबाट कहिल्यै नदेखिने ‘डार्क साइड अफ मून’ अथवा ‘फार साइड अफ मून’मा सुरक्षित अवतरण गरेको थियो । ‘डार्क साइड अफ मून’ मा पुग्ने चीन पहिलो राष्ट्र बन्यो।
सन १९७६ को लूना २४ अभियान पछि विश्वका अनेकौँ राष्ट्रले ‘मून मिसन’ पठाए। तर चन्द्रमामा अवतरण गरी पुनः पृथ्वीमा फर्किने किसिमका कुनै पनि अभियान विगत ४४ वर्ष देखि भएका थिएनन् । चीनले ४४ वर्ष लामो खडेरी समाप्त पार्दै सन २०२० को २३ नोभेम्बरका दिन च्याङ्ग’इ–५ लाई चन्द्रमामा पठायो।
चीनको २०२० मा भएको चन्द्रमाको दुईतर्फी यात्रा र १९६९ को अपोलोको दुईतर्फी चन्द्रयात्रामा कुनै प्राविधिक परिवर्तन आएको छैन । तर चिनियाँ यान सकुशल पृथ्वीमा ओर्लिएपछि १९६९ को चन्द्र अवतरणलाई पुनर्नपरिभाषित गरिदिएको छ ।