जनादेश वाच ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्ने बताएपछि तत्कालका लागि टर्ने संकेत देखिएपनि नेकपाको विवाद र ओलीको सत्ता संकट टरेक छैन ।
प्रधानमन्त्री ओली पार्टी र सरकार सञ्चालन गर्न असक्षम भएको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु ओलीलाई विदा गर्ने तयारीमा दृढ छन् ।
पार्टीभित्र र बाहिरका विपक्षीलाई माथ दिने उद्देश्यले ओलीले यसअघि असफल भैसकेको अध्यादेशको तुरुप फ्याकेपनि उनलाई निक्कै नराम्रोसँग ब्याक फायर भएको छ । गत वैशाखमा असफल भैसकेको तुरुप फ्याकेका ओलीले इतर पक्ष आफू भन्दा २ कदम अघि रहेको चाल पाएपछि पछि हट्न बाध्य भएका छन् ।
पार्टीभित्र र बाहिरबाट उनलाई दुवै पदमा बस्ने नैतिक अधिकार नभएको आवाज झनै चर्किएको छ भने विपक्षी दलले सर्वसत्तावादी व्यवहार देखाएको भन्दै ओलीको चर्को विरोध गरिरहेको छ ।
अब संसदीय दलमा पनि अल्पतमा
पार्टीका हरेक कमिटीमा ओली अल्पमतमा छन् । सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा प्रचण्ड–नेपाल पक्ष प्रष्ट बहुमतमा छ ।
यसअघि ओली पक्षीय नेताहरु सबै मोर्चामा असफल भएपनि संसदीय दलमा तिकडम गरेरै पनि बहुमत कायम रहनेमा ढुक्क थिए तर बुधबारको नाटकीय उतार चढाव पछि संसदीय दलमा पनि उनी चिप्लिने निश्चित देखिएको छ ।
बुधबार बहुमत सांसदहरुको हस्ताक्षर बोकेर भीम रावल र पम्फा भुसाल संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्याल शीतल निवास पुगेपछि बालुवाटार र शितल निवास दुवैतिर हाइ भोल्टेज झट्का लागेको थियो । त्यो हस्ताक्षर विशेष अधिवेशन माग्न मात्र होइन, महाअभियोग दर्ता गर्नसमेत प्रयोग हुनसक्ने देखेपछि ओली इन्तु न चिन्तु बनेका थिए ।
आफू भन्दा इतर पक्ष २ कदम अगाडि रहेको र आफ्नो मात्र होइन राष्ट्रपतिको पद पनि धरापमा रहेको स्पष्ट बुझेपछि ओली निर्विकल्प बनेका थिए । उनले बुधबारको स्थायी कमिटी बैठकमा प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने रटान लगाइरहे तर प्रचण्डले प्रतिवेदन फिर्ता नहुने बताए ।
प्रचण्डले ओलीलाई दुवै पदबाट राजीनामा दिएर मुलुकलाई निकास दिन आग्रह गरेका थिए। त्यसमा ओली तयार नभएपछि उनीहरुबीचको वार्ता अध्यादेश र आवेदन फिर्ता गर्ने, आगामी पाँच गतेलाई प्रस्तावित केन्द्रीय कमिटी बैठक १० गतेलाई सार्ने र पाँच गते फेरि स्थायी कमिटी बैठक डाक्ने सहमतिमा सीमित बनेको थियो।
पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा बहुमत गुमाएका ओली संसदीय दलमा शक्ति परीक्षण गर्ने खेलबाट पनि पराजित भएका छन् । अब जुँगा उखेलिएको बाघ जस्तो बनेका ओली पार्टीले आफूलाई बहुमतको चाबिकले नहानोस् भन्ने कामना मात्र गर्ने स्थानमा पुगेका छन् ।
प्रचण्ड-नेपाल पक्षले काँग्रेससँग मिलेर संसद अधिवेशन बोलाउने र ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने हतियार हातमा लिएको छ । शक्ति विभाजनमा ओली तयार नभए ढिलो छिटो यो हतियार उनीविरुद्ध प्रयोग हुने खतरा कायमै छ ।
यो पनि हेर्नुस्-
ओलीविरुद्धको बम बनेर शितलनिवास पुगेको सांसदको पत्रमा के थियो (पत्रसहित)
संबैधानिक परिषद्को मनपरी रोक्न प्रचण्ड माधवसँग बाँकी छ यो हतियार
माधव नेपालका सिधा कुराः पार्टी फुट्दैन ओली जान सक्छन्, पुस्तान्तरण गर्ने भए पहिले राजीनामा देउ