नागरिक आन्दोलनमा निर्मम दमन, गगन थापा भन्छन्- ओलीतन्त्र अन्त्यअघिको छटपटी – Janadesh Daily | ePaper

नागरिक आन्दोलनमा निर्मम दमन, गगन थापा भन्छन्- ओलीतन्त्र अन्त्यअघिको छटपटी


जनादेश अपडेट ।

प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार बालुवाटार क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने कैयौं नागरिक अभियन्तामाथि प्रहरीले निर्मम दमन गरेको छ । प्रहरीको लाठीचार्जमा घाइते भएका १२ जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

निर्गराज जैसी, जनक ढुंगाना, सुरज तामाङ, कुलदीप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी गम्भीर घाइते भएको नागरिक समाजले जनाएको छ ।

 

वृहत् नागरिक आन्दोलनका अभियन्ता युग पाठकले एक विज्ञप्ति जारी गर्दै गम्भीर घाइते हुने ६ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको जनाएका छन् ।

अन्य घाइतेहरु संघर्ष दाहाल, कुमार बर्तौला, सीएन थारु, स्वर्णिम दिनेश, रामनरेश यादव र प्राध्यापक रमेश भट्टराई लगायतको काठमान्डु मोडल अस्पताल, हेल्पिंग ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार भइरहेको पाठकको विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनका बिभिन्न चरणमा भएका कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज सोमबार कमलपोखरीबाट मार्चपास गर्दै बालुवाटार पुग्ने र कोणसभा आयोजना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी निर्मम रुपमा दमन गरेको थियो ।

यसैबीच नेपाली कांग्रेसका नेता गगन थापाले नागरिक आन्दोलनमा दमन गर्नु ‘ओलीतन्त्र’ अन्त्यको संकेत भएको बताएका छन्।

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिक अभियन्तालाई प्रहरीले दमन तथा धरपकड गरेपछि आक्रोशमा नेता थापाले अब ओलीतन्त्रको अन्त्य हुने बेला आएको बताएका हुन् ।

‘नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ हो,’ सोमबार साँझ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तानाशाहहरू ढल्नुअघि नागरिकलाई यसरी नै हेप्छन्, अनि आफैं सकिन्छन्।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्