चार महिना लामो खडेरीका कारण हिउँदे खेती प्रभावित – Janadesh Daily | ePaper

चार महिना लामो खडेरीका कारण हिउँदे खेती प्रभावित


पर्वत, १८ माघ । झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ ।

गत असोजको दोस्रो सातादेखि वर्षा नभएपछि हिउँदे बाली लगाएका कृषक चिन्तित बनेका छन् । पर्वतका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् । आकाशे पानीको भरमा हिउँदे खेती गर्दै आएका कृषकको गहुँ, जौँ, फापर र तोरीजस्ता बालीनाली प्रभावित भएका छन् भने वर्षा नभएकै कारण आलु तथा अन्य तरकारी खेतीमा समेत डढेलो तथा विभिन्न प्रजातिका किराको प्रकोप देखिन थालेको छ ।

गत असोजको अन्तिम सातादेखि नै वर्षात् हुनसकेको छैन । पानी नपरेपछि उर्बरा भूमि बाँझै छोड्नुपर्ने अवस्था आएको पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गकी लीलादेवी पौडेल बताउनुहुन्छ । पर्वतको कूल हिउँदे खेतीयोग्य जमिनमध्ये ३७ प्रतिशत मात्रै सिञ्चित क्षेत्र रहेको छ भने अन्य ६३ प्रतिशत खेतीयोग्य जमिन आकाशे पानीकै भरमा रहेको छ । अहिले हिउँदमा वर्षा नहुँदा कृषक मर्कामा परेको जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापा जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा यस वर्ष हिउँदे बाली उत्पादनमा २० प्रतिशतभन्दा बढीले ह्रास आउने देखिएको उहाँले बताउनुभयो । विशेषगरी पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशिला र विहादी गाउँपालिकामा यसको प्रभाव देखिएको छ । यस क्षेत्रमा धान खेती थन्क्याएसँगै गहुँ, आलु, तोरी, फापरलगायतका हिउँदे बाली लगाउने गरिन्छ । पैञ्यु गाउँपालिका र मोदी गाउँपालिका केही क्षेत्र भने सिँचाइ सुविधा भएका कारण हिउँदे बाली सोचेअनुरुप उत्पादन हुने लक्ष्य लिइएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्