जनादेश मिडिया वाच ।
नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि आफूहरूले दलका उपनेता सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको खुलासा गरेका छन्। तर, त्यसलाई ओलीले नमानेको उनको दाबी छ ।
सोमबार नेपाल लाइभ अनलाइन टेलिभिजनसँगको अन्तर्वार्तामा नेता भुसालले आफ्नो प्रस्तावमा ओली समूहकै दोस्रो तहका नेताहरू तयार भएको पनि खुलासा गरे । भुसालले भने, ‘तर, ओलीजीको रोग के छ भन्दाखेरी आफू भएन भने, आफ्नै गुटको पनि हुँदैन ।’
यसअघि नेकपा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षसँग तीनवटा विकल्प रहेको बताएका थिए । आइतबार काठमाडौं जिल्लामा समानान्तर कमिटी घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले विकल्पहरूको चर्चा गरेका हुन्।
‘एउटा विकल्प केपी ओलीको टाङमुनि छिर्नु हो’, नेपालले भने, ‘केपी ओलीका सामु आत्मसमर्पण गर्नु हो।’ उनले सुनाएको दोस्रो विकल्पमा राजनीति छाड्नु रहेको छ। ‘दोस्रो विकल्प भनेको राजनीति छाडेर गेरुवस्त्र लगाएर हिँड्नु हो। वैराग जागेर, निराश भएर बस्नु हो’, उनले भने । नेपालले उल्लेखित दुवै विकल्प आफूहरूले नजानेको बताए। ‘सही बाटोमा निरन्तर अगाडि बढिन्छ। गलत कुराका विरुद्ध दृढताका साथ जुधिन्छ। मैदान छाडेर भागिने छैन। पिठ्युँ फर्काएर भागिने छैन। दृढताका साथ छाती अगाडि सारेर अगाडि बढिन्छ’, उनले भने।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी व्युउँताएपछि थप शक्तिशाली भएका केपी ओलीले नेता नेपाल र घनश्याम भुसाल लगायतका ४ शीर्ष नेतालाई कारवाही गरेका छन् । एमाले विभाजनको चरणमा छ ।
नेपालले आफूहरू सही बाटोमा भएको दाबी गरे।
यो पनि हेर्नुस्-