जनादेश वाच ।
नेकपा एमालेमा जारी विवाद सुल्झिने भन्दा पनि बल्झिनेतर्फ उन्मुख भएको छ । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दुई दिन चार घण्टासम्म भएको छलफलले मिल्ने सम्भावना नभएपछि आ–आफ्नै बाटो लाग्ने तय भएको देखिएको छ ।
विहीबार दोश्रो दिन मेरियट होटलमा भेटेका नेताहरु करिब दुई घण्टाको तिक्ततापूर्ण संवादपछि दुई नेता आ–आफ्नै लय नछोड्ने उद्घोषसहित छुट्टिएको बताइएको छ ।
बैठकस्थलबाट बाहिरिँदै सञ्चारकर्मीलाई नेता नेपालले भनेका थिए, ‘हालसम्मको कुराकानीमा कुनै प्रगति भएको छैन।’
२३ फागुनमा सर्वोच्च अदालतले नेकपा भंग गरेपछि एमालेमै फर्किएका नेपाल र उनको समूहले त्यसको ५ दिनपछि २८ फागुनमै ओलीसँग राजनीतिक सहयात्रा असम्भव ठानेका थिए। आ– आफ्नो सहभागिताबिना, विधानविपरीत आफूपक्षीय पदाधिकारीलाई जिम्मेवारविहीन बनाएको, पार्टीका सदस्य नै नभएकालाई केन्द्रीय कमिटी सदस्य बनाएको र विधान संशोधन गरेको आरोप नेपाल समूहले ओलीमाथि लगाएको थियो।
त्यसपछिका ४२ दिन नेपाल समूहले ओलीविरुद्धको भेलाहरू मात्र तीव्र पारेन, देशव्यापी रूपमा समानान्तर कमिटी गठन गरेको छ। ओलीले पनि आफू र आफ्नो सरकार रक्षाका लागि नेपाल समूहका संघ र प्रदेशका गरी ३२ सांसदबाट हटाउने तयारीसाथ स्पष्टीकरण पत्र काटेको अवस्था छ।
एमाले फुटको औपचारिक घोषणामात्र बाँकी
नेपाल समूहबाट स्पष्टीकरणको जवाफ पेस गर्ने क्रम जारी रहेका बेला ओली र नेपालबीच मेरियट होटलमा वार्ता भएको थियो। तर, उनीहरूबीच अविश्वासको खाडल यति विशाल भइसकेको छ कि त्यसलाई पुर्न अब असम्भवप्रायः देखिन्छ।
ओलीसँगको वार्तापछि जनकपुर पुगेर सञ्चारकर्मीलाई ओलीसँगको बिहीबारको वार्ताले आफूहरू अझै एक कदम पछाडि धकलिएको सुनाउनुले त्यसको पुष्टि गर्छ। अबको वार्ता मिति टुंगो नलगाई नेपालसँग छुट्टिएका ओलीले शुक्रबार ‘महाधिवेशन आयोजक कमिटी’को बैठक तोकेका छन् । बैठकले थप कडा निर्णय लिने र कारवाही गर्ने ठानिएको छ । माधव नेपालले पनि अब ओलीसँग सहकार्य सम्भव नभएको भन्दै आफ्नो पार्टी गठन प्रक्रियामा अघि बढ्ने निर्णय गरेका छन् ।
बामदेव बालुवाटार डिनरमा
पार्टी विभाजनको संघारमा रहेका बेला एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता बामदेव गौतमबीच विहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भएको छ । नेता गौतमले प्रधानमन्त्री ओलीसँग पार्टी अध्यक्षका हिसाबले मात्र नभई जमानादेखिको सम्बन्ध भएको र त्यो अटुट रहिरहने बताएका थिए ।
ओली र गौतमको डिनरमा कानुन मन्त्री लीलानाथ श्रेष्ठ र प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए। तर पार्टीको शक्ति सन्तुलनमा आफूलाई साथ दिन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले गरेको प्रस्ताव उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गरेका छन् । त्यस क्रममा ओलीले आफूलाई साथ दिन आग्रह गरेको नेता गौतमले बताएका छन्।
तर फागुन २८ गते भएका अवैधानिक निर्णय फिर्ता लिएपछि मात्रै साथ दिन सकिने जवाफ आफूले ओलीलाई दिएको गौतमले बताएका छन्। ती निर्णयहरु फिर्ता नहुने जवाफ ओलीले दिएपछि आफूले पनि ओलीलाई साथ दिन नसक्ने जवाफ फर्काएकाे गाैतमले प्रेस नाेट जारी गरेर बताएका छन्।
उनले भनेका छन्, ‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईँले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भए।’
यो पनि हेर्नुस्-
के थियो ओलीले नेपाललाई दिएको अफर ?
ओलीलाई घनश्यामको चेतावनपूर्ण सुझावः शक्तिको विवेकहीन प्रयोग नहोस्
दोश्रो दिन मेरियटबाट बाहिरिँदै माधव नेपालले भने- वार्तामा कुनै प्रगति छैन !