जनादेश वाच ।
दोस्रापटक प्रतिनिधिसभा विघटन गरेको विषयमा पक्ष र विपक्षमा परेका रिट निवेदनहरुको सुनुवाई बिहीबारदेखि सुरु हुँदैछ ।
सर्वोच्च अदालतले साधारण क्षेत्राधिकारतर्फ दर्ता भएका १९ वटा रिटको सुनुवाई बिहीबार र संवैधानिक इजलासमा जाने गरि दर्ता भएका ११ थान रिटको सुनुवाई शुक्रबारका लागि पेशी तोकिएको छ ।
गएको सोमबार १४६ जना सांसदहरुको सहित २८ वटा रिट दर्ता भएकोमा मंगलबार थप दुईवटा दर्ता भएका छन् । विपक्षी गठबन्धनका १४६ जना सांसदमध्ये १३९ जनाले आफै उपस्थित भएर निवेदनमा सनाखत गरि रिट दिएका छन् भने बाँकी ७ जनाले वारेसमार्फत उपस्थिति जनाएका थिए।
संसद पुनर्स्थापन गरि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै २६ वटा र राष्ट्रपतिको कदम सदर गर्नुपर्ने माग रहेका ४ वटा निवेदन छन् ।
चारवटा निवेदनमा ओलीलाई नै प्रधानमन्त्री तोकेर चुनाव जाने निर्णयलाई वैधानिकता दिनुपर्ने माग गरिएको छ। साधारण इजलासमा पेशी तोकिए पनि सुनुवाईका लागि भने सबै रिट संवैधानिक इजलासमा जाने संभावना छ।
यी हुन् विपक्षी गठबन्धनका प्रभावशाली वकिल
संसद् विघटनविरुद्धको रिटमा बहस गर्ने ८ कानुन व्यवसायीको नाम विपक्षी गठबन्धनले छनोट गरेको छ। वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल, महादेव यादव, शम्भु थापा, रमन श्रेष्ठ, गोविन्द बन्दी, मुक्ति प्रधान र मिथिलेशकुमार सिंहले शुक्रबार बहस गर्ने भएका छन् । शुक्रबार बस्ने नियमित संवैधानिक इजलासमा रिटमाथि प्रारम्भिक बहस सुरु हुनेछ। १४६ सांसदको रिटमा विभिन्न ५ विषयमा अन्तरिम आदेश माग गरिएको छ। बहसपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने निर्णय गर्नेछ । विपक्षी दलका तर्फबाट दायर रिट आठौँ नम्बरमा छ। त्यसअघि अधिवक्ताहरुले दायर गरेका रिट निवेदकको तर्फबाट बहस हुनेछ।
विपक्षी गठबन्धनको सूचीमा २३ अधिवक्ता छन्। जसले रिट तयार गर्दादेखि नै भूमिका खेलेका छन्। मुख्य ८ वाहेक मेघराज पोखरेल, डा. दिनमणि पोखरेल, टीकाराम भट्टराई, सुनील पोखरेल, डा. चन्द्रकान्त ज्ञवाली, गोपालकृष्ण घिमिरे, ललित बस्नेत, डा. रूद्र शर्मा, सरोज घिमिरे, सुरेन्द्र थापा लगायत अधिवक्ताले बहस गर्नेछन्। त्यस्तै सूचीमा खम्म खाती, शेरबहादुर के.सी, प्रेमबहादुर खड्का, रुद्र नेपाल, सतीश कर्ण र तुलसी भट्टले बहसको तयारी गरिरहेको एक वरिष्ठ अधिवक्ताले जानकारी दिए।