चीनको चेङ्दु शहरमा रहेको अमेरिकी वाणिज्य दूतावास खाली गर्न थालियो – Janadesh Daily | ePaper

चीनको चेङ्दु शहरमा रहेको अमेरिकी वाणिज्य दूतावास खाली गर्न थालियो


चेङ्दु, चीन ।

चीनको चेङ्दु शहरमा रहेको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारहरुले अमेरिकी प्रतीक चिन्हहरु शनिबार हटाएका छन् । बेइजिङले चेङ्दुस्थित वाणिज्यदूतावास बन्द गर्न आदेश दिएलगत्तै भोलिपल्ट अर्थात शनिबार दूतावासबाट ती सामान हटाउन थालिएको हो ।

अमेरिकाको ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास हटाउन अमेरिकी प्रशासनले आदेश दिएलगत्तै त्यसको बदलामा चीनले पनि चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास बन्द गर्न आदेश दिएको थियो । दुबै मुलुकले वाणिज्यदूतावास मार्फत एकअर्का विरुद्ध जासुसी गरेको र राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको आरोप लगाउँदै आएका छन् ।

चेङ्दुको अमेरिकी वाणिज्यदूतावास कहिले बन्द हुन्छ भन्नेबारेमा अझै स्पष्ट भइसकेको छैन, तर वाणिज्यदूतावासमा राखिएका प्रतीक, निशान हटाउन थालिएको एएफपीका स्थानीय समाचारदाताले बताएका छन् । अहिले त्यहाँ अमेरिकी झण्डामात्र फर्फराएको देख्न सकिन्छ ।

शनिबार अपराह्न तीन वटा ट्रक वाणिज्यदूतावास परिसरमा प्रवेश गरेका थिए । भवनबाट ठुल्ठूला प्लास्टिक ब्यागमा सामानहरु बिहानैपख फालिएका थिए । फुटेका प्लास्टिक ब्यागभित्र कागजातहरु देखिएको एएफपीका समाचारदाताले जनाएका छन् ।

बेइजिङले चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास बन्द गर्नु चीनका लागि बैधानिक र अत्यावश्यक कार्य रहेको प्रतिक्रिया दिइसकेको छ । बेइजिङले चेङ्दुस्थित कुटनीतिक नियोगले चीनको राष्ट्रिय सुरक्षा र सरोकारमाथि खतरा उत्पन्न गराएको आरोप लगाएको छ ।

उता, अमेरिकी अधिकारीहरुले पनि ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावासका गतिविधि शंकास्पद रहेको आरोप लगाएका छन् । ह्युस्टन नियोगले अमेरिकी कर्पोरेट गोपनीयताका साथै स्वास्थ्य र वैज्ञानिक अनुसन्धानसँग सम्बन्धित सूचनाहरु चोरी गरेको दाबी गरेको छ ।

अमेरिकाले ह्युस्टन नियोग ७२ घण्टाभित्र छाड्न आदेश दिएसँगै शुक्रबारभित्र नियोगको कार्यालय बन्द भएको छ भने त्यहाँबाट सबै कर्मचारीले कार्यालय छाडेका छन् ।

बेइजिङले अमेरिकी गुप्तचर निकायका व्यक्तिहरु ह्युस्टन नियोगभित्र जबर्जस्ती प्रवेश गरेको बताएको छ । चीनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ह्युस्टन नियोग अन्तर्राष्ट्रिय कानुन बमोजिम स्थापना भएको र यो चिनियाँ सम्पत्ति रहेको उल्लेख छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्