जनादेश, काठमाण्डौं । पूर्वयुवराज पारस शाहले ड्यूटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।
हेलमेट नलगाइकन मदिराले मातेको अवस्थामा पारसलाई महाराजगन्जमा प्रहरीले पक्राउ गर्दा पारसले प्रहरीलाई नै गालीगलौज गरेको भिडियो शुक्रबार साँझ सार्वजनिक भएको हो । भिडियोमा प्रहरीले पारसको हात समातेर कन्ट्रोलरमा फोन गर्दै गाडी मगाएका छन् ।
ती प्रहरीले पारस शाहले रक्सी खाएर लफडा गरेको भन्दै उनलाई पक्राउ गर्न गाडी चाहिएको भनेको भिडियोमा सुनिन्छ । तर पारसले आफू कहीँ नजाने तर त्यहीँ बस्ने भनेर प्रहरीलाई धम्की समेत दिएका थिए।
साथै आफूले कहिल्यै हेलमेट नलगाउने भन्दै पक्राउ गर्न नसक्ने चेतावनी दिएको भुडियोमा सुनिन्छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार हेलमेट नलगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि जाइलागेका थिए ।
शिंहका अनुसार शाहले मादक पदार्थसमेत सेवन गरेका थिए । भिडियोमा देखिएको दृश्य अनुसार शाहलाई ट्राफिक प्रहरी नियम अनुसार पक्राउ गर्न खोज्दा प्रहरीसँग शाहको घम्साघम्सी नै भएको थियो । पारसकै लफडाका कारण केही बेरसम्म महाराजगन्ज चोकमा जाम समेत भएको देखिन्थ्यो ।
त्यहाँ भेला भएका केही युवाहरुले भने पारसको समर्थनमा नारा नै लगाएको भिडियोमा सुनिन्छ । एसएसपी सिंहले शाहलाई नियन्त्रणमा लिएर सम्झाएर पठाएको प्रतिक्रिया दिएका छन् । शाह यसअघि पनि पटक पटक सार्वजनिक स्थलमा देखाउने हर्कतका कारण विवादमा आउने गरेका थिए।