एजेन्सी ।
इटालियन क्लब इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले बार्सिलोनाका कप्तान लिओनेल मेस्सीलाई अनुबन्ध गर्न सहज नरहेको अभिव्यक्ति दिएका छन् ।
पछिल्लो समय इटालियन संचारमाध्यमले मेस्सीको नाम इन्टर मिलानसँग जोडेपछि कोन्टेले आफ्नो विचार राखेका हुन् । बार्सिलोनामा असन्तुष्ट रहेका मेस्सीको आगामी गन्तव्य कता हुनेछ भन्ने चासोको विषय बनेको छ । यद्यपि बार्सिलोनाले उनी क्याटलान क्लबमै रहने बताउँदै आएको छ ।
इन्टरका मालिकले मेस्सीलाई खरिद गर्ने प्रयास गर्ने बताएसँगै चर्चा चलेको थियो । त्यसमाथि मेस्सीका एजेन्ट समेत रहेका उनका पिताले मिलानमै घर खरिद गरेपछि सम्भावना बढेको थियो । इन्टरले औपचारिक प्रस्ताव राख्न नपाउँदै उक्त सम्भावना नरहने प्रशिक्षक कोन्टे र कार्यकरी अधिकृत जिसेपे मारोट्टाको अभिव्यक्तिले जनाएको छ ।
कोन्टेलाई पत्रकार सम्मेलनमा मेस्सी अनुबन्ध गर्ने की ५० मिलियन मूल्यका ४ खेलाडी अनुबन्ध गर्ने भन्ने प्रश्न गर्दा उनले दुवै परिस्थिति अहिले असम्भव रहेको बताए । ‘म अहिले आफ्नो खेलाडीलाई सँगै राख्न चाहन्छु । उनीहरुले निकै मिहिनेत गरिरहेका छन् । मेस्सीको कुरा गर्नुपर्दा अहिले उनलाई अनुबन्धन गर्ने सम्भव देखिन्न,’ कोन्टेले भने ।
इन्टरका अर्जेन्टिनी स्टार लौटारो मार्टिनेजले भने यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै मेस्सीको छायाँ रहेको देखाएका छन् । इन्टर अर्को सिजन पनि उनलाई क्लबमै राख्न प्रयासरत छ । बार्सिलोनाले लामो समयदेखि उनलाई पछ्याईरहेको छ ।