विराटनगर,
कोशी अस्पताल विराटनगरमा कार्यरत स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि आजदेखि बहिरङ ९ओपिडी० सेवा बन्द गरिएको छ ।
अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि सेनिटाइज गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि ओपिडी सेवा बन्द गरिएको मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिएकाछन् ।
अस्पतालको ओपिडी इञ्चार्जसहित एक कार्यालय सहयोगीमा बुधबार राति सङ्क्रमण पुष्टि भएपछि अस्पतालले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो । अस्पतालमा बिरामीको भीड हुनाले समुदायमा सङ्क्रमण नफैलियोस् भनेर ओपिडी सेवा बन्द गरिएको हो ।
यसअघि अस्पतालका एक चिकित्सक र स्टाफ नर्समा सङ्क्रमण देखिएको थियो । अस्पतालबाट दैनिक ७०० बिरामीले स्वास्थ्य सेवा प्राप्त गरिरहेका थिए । ओपिडी सेवा बन्द भए पनि आकस्मिक सेवा र फिभर क्लिनिक पुनः सञ्चालन रहेको डा दासले जानकारी गराए ।