कांग्रेसभित्र महाधिवेशन कब्जाको तयारी ? कामचलाउ सभापतिले मनोमानी गरेको आरोप – Janadesh Daily | ePaper

कांग्रेसभित्र महाधिवेशन कब्जाको तयारी ? कामचलाउ सभापतिले मनोमानी गरेको आरोप


जनादेश, काठमाडौं ।

आउँदो हिउँदमा सम्पन्न हुन गैरहेकोे नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आआफ्नो जित सुनिस्चित गर्न पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाबीच आआफ्ना महाधिवेशन प्रतिनिधि सुनिस्चितताका लागि होड चलिरहेको छ ।

आफ्नो पक्षमा महाधिवेशन प्रतिनिधि बढीभिन्दा बढी बनाउने ध्येयका साथ शेरबहादुर देउवाले आफू अनकुल हुने गरी पार्टीभित्र मनोनयन र नियुक्तिमा तीब्रता दिंदै अघि बढिरहेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष प्रतिवादमा उत्रिएका छन् ।

पौडेल पक्ष मिटिङ बसी सभापतिले देउवाले विधानविपरीत गठन गरेका विभाग, क्रियाशील सदस्यतामा गरिएको मनोमानी, पार्टी एकतामा आएकालाई समायोजन गर्दा सदस्यता वितरणमा गरिएको मनलाग्दी, पार्टीका आन्तरिक संरचनाको समायोजन, जनसम्पर्क समिति निर्माण र भ्रातृ संस्था सक्रिय हुन नसकेकोजस्ता विषयलाई लिएर गम्भीर ध्यानाकर्षण गराउन पुगेको छ ।

विधानतः पार्टी महाधिवेशनको मिति तोकिसकेपछि पार्टी सभापति कार्यकारी रहँदैनन् । तर सभापति देउवाले कार्यकारी अधिकार निरन्तर प्रयोग गरिरहेका छन् । यही विषयलाई लिएर नेता प्रकाशमानसिंहले समेत पार्टी सभापति देउवाविरुद्ध कडा टिप्पणी गरिसकेका छन् । उनको भनाइमा सभापति देउवालाई यस्ता कार्य गर्नबाट रोक लगाउनु जरुरी भैसकेको छ ।

यसरी एकअर्कामा रस्साकस्सी हुँदै जाँदा पौडेल पक्षले आफ्ना मागहरु लिखित रुपमै राखेर सभापतिको ध्यानाकर्षण गराएको छ । पौडेल पक्षले महामन्त्री शशांक कोइराला, नेताहरू मिनेन्द्र रिजाल, शेखर कोइराला, चन्द्र भण्डारी लगायतका नेताहरुसहित सभापतिको कार्यकक्षमा पुगी निर्णय सुनाएका थिए । त्यतिबेला सभापति देउवा उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का र एनपी साउदलाई साथमा लिएर कार्यालयमा कुरिरहेका थिए ।

पार्टीे विधानअनुसार ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग १४ औं महाधिवेशनको मुखैमा आएर अगाडि बढाएपछि यी सबै कामकार्वाही अस्वीकार्य हुने पौडेलले बताएका थिए ।

उता देउवाले भने गठित समितिहरुमा आफ्ना मानिसको नाम दिन आग्रह गरे । तर पौडेलले नाम दिन अस्वीकार गरेपछि देउवाले रामचन्द्रजीलाई धन्यवाद भन्दै आफ्नो हजार भोट बढ्ने बताएका थिए ।

देउवाले उल्टै आरोप लगाउँदै पौडेललाई भनेका थिए– ‘विभाग गठनगर्दा तपाईलाई पर्खिए, नाम दिनुभएन । अझै आउनुस् । सबै मिलेर जाँदा महाधिवेशन कसरी प्रभावित हुन्छ ?’

गत वर्ष फागुनबाटै पार्टी सभापतिको म्याद समाप्त भैसकेका देउवाले एक वर्ष थप गरी पार्टी अधिवेशन आउँदो फागुन महिनासम्म लम्ब्याएका हुन् । नेपाली कांग्रेसले आउने फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्