एजेन्सी ।
इटालियन क्लब लाजियोका फरवार्ड चिरो इम्मोबिलेले सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने युरोपेली गोल्डेन बुटको दौडमा जर्मनीका रोबर्ट लेवान्डोस्की र युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।
इम्मोबिले ३५ गोलसहित सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा छन् । अघिल्लो महिना लाजियो खराब लयबाट गुज्रेसँगै इम्मोबिलेको गोल पनि रोकिएको थियो । तर अघिल्लो साता ह्याट्रिक प्रहार गर्दै लयमा फर्केको संकेत दिएका इम्मोबिलेले यस साता एक गोल गर्दै अग्रता लिए ।
जर्मन क्लब बायर्न म्युनिखलाई च्याम्पियन बनाउन मुख्य भूमिका निर्वाह गरेका लेवान्डोस्कीले ३४ गोल गरेका थिए । उनले जर्मन लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडीको कीर्तिमान समेत कायम गरेका थिए । जर्मन लिगमा ३४ खेल मात्र हुने कारण पनि उनलाई केहि बेफाइदा पुगेको छ ।
युभेन्टसका क्रिस्टियानो रोनाल्डोले ३१ गोल गरेका छन् । इटालियन लिगमा अझै १ खेल बाँकी रहेको अवस्थामा अब इम्मोबिले नै लिग र युरोप दुवैमा गोल्डेन बुट जित्ने बलियो सम्भावना छ ।
पछिल्लो तीन सिजन लगातार गोल्डेन बुट जितेका बार्सिलोना कप्तान लिओनेल मेस्सी यसपटक भने स्पेनी लिगको शीर्ष गोलकर्तामै चित्त बुझाउन बाध्य भए । मेस्सीले लिगको ३३ खेलमा २५ गोल गर्दै पिचिचि ट्रफी हात पारे ।