एजेन्सी ।
इन्टर मिलानले एटलान्टालाई पराजित गर्दै इटालियन सिरी ‘ए’ मा दोस्रो स्थान पक्का गरेको छ । इन्टरले एटलान्टालाई उसकै मैदानमा २–० को जित निकालेको हो ।
सिरी ‘ए’ मा दोस्रो हुने दौडमा रहेको खेलमा इन्टरले जित हात पारेपछि एटलान्टालाई ४ अंकले पछि पार्यो । शीर्षस्थानको युभेन्टससँग १ अंक दुरी राख्दै सिजनको अन्त्य गर्यो । इन्टरले ३८ खेलबाट ८२ अंक जोड्यो । तेस्रो स्थानमा चिक्त बुझाएको एटलान्टा ७८ अंकमा सीमित बन्यो । शीर्षस्थानको युभेन्टस पनि ८३ अंकमा रोकियो ।
जिविस स्टेडियम बरगामोमा शनिबार राति भएको खेलमा इन्टरको जितमा ड्यानिलो डि एम्ब्रुसो र एस्ले योङले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको पहिलो मिनेटमा नै एम्ब्रुसोको गोलबाट इन्टरले खेलमा अग्रता बनाएको थियो । एस्ले योङको क्रसमा अनमार्क रहेका एम्ब्रुसोको बाउन्स हेडर एटलान्टाका गोलरक्षक गोलिनीले रोक्न सकेनन् ।
२०औं मिनेटमा रोवर्टाे गाग्लियरडिनीको पासमा एस्ले योङले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा एटलान्टाका कप्तान एलजान्द्रो गोमेजले अग्रता छोट्याउने अवसर गुमाए । ५४औं मिनेटमा गोमेजले नै अर्काे अवसर खेर फाले । ८३औं मिनेटमा एटलान्टाका रोविन गोसेन्सले अर्काे अवसर खेर फाल्यो । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर २–० ले विजयी हुन सफल भयो ।
इन्टरसँगको हारसँगै एटलान्टाको अपराजित यात्रामा पुर्णविराम लागेको छ । एटलान्टा पछिल्लो १९ खेलमा अपराजित रहेको थियो । २१ जनवरीमा एस्पालसँग २–१ ले पराजित भएयता एटलान्टा अपराजित रहेको थियो ।