जनादेश दैनिक :
राष्ट्रिय क्रिकेट टोलीको भदौ १ गते देखि हुने भनिएको बन्द प्रशिक्षण संभव नहुने बताएपछि खेलमा कोरोनाको प्रभाव देखिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भदौ १ देखि प्रशिक्षण थाल्ने भनी सबै आन्तरिक तयारी गरिरहेका बेला यस्तो असर देखिएको हो । खेलाडीहरुको मनोभावलाई बुझेर क्यानले खेल हुनु एकहप्ता अघि नै खेलाडीलाई काठमाडौं भित्र्याउने तयारी गरिरहेको थियो ।
बन्द प्रशिक्षणको तयारी गर्दै त्रिभुवन विश्वविद्यालको मैदानमा र त्यसकै परिसरमै क्वारेन्टाइन, खानाको मेस तथा सामाजिक दुरी कायम गरी बस्ने ब्यवस्था समेत गरिदै थियो ।
खेलाडी आइसकेपछि प्रत्येकको पीसीआर गर्ने तयारी पनि गरिएको बताइएको छ । अग्रिम सुरक्षाका लागि र ग्यारेन्टीका लागि त्रिविका कर्मचारीको कोरोना परीक्षण पीसीआर मार्फत् गरिने र खेलाडीलाई ढुक्क बनाइने तयारी थियो ।
क्यानले जनाएअनुसार खेलाडीहरु मैदानमा सकुशल प्रवेश गरिसेपछि करीब दुई महिनासम्म प्रशिक्षण सञ्चालन गरिने आन्तरिक तयारी पूरा गरिएको थियो । तर कोरोना संक्रमण बढ्दै जाँदा अबका दिनमा सरकारले के गर्छ भनी केही अन्यौलता थपिन गएकाले लगभग स्थगित नै हुनेमा क्यान पुगेको छ ।
क्यानका अनुसार आगामी पाँच महिनासम्म कुनै पनि अन्तर्राष्ट्रिय खेल नभए पनि आवश्यक तयारी गरेर खेलाडीको व्यावसायिक दक्षता बढाउन निरन्तर प्रयास जारिराखिएको छ ।
करीब एक दर्जन जति खेलाडी काठमाडौंमा रहे पनि अरु भने राजधानी बाहिर रहेका छन् ।