एजेन्सी ।
क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अबको ४ वर्षभित्र बार्सिलोनाबाट नै सन्न्यास लिने क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले बताएका छन् ।
पछिल्लो समय क्लबसँग सम्झौता नवीकरणको विषयमा भएको छलफल सफल हुन नसकेपनि अध्यक्ष बार्टोमेउले मेस्सी क्लबमै रहनेमा आफू ढुक्क रहेको बताए । हालसम्म ६ पटक ब्यालोन डी’ओर जितिसकेका अर्जेन्टिनी फरवार्ड मेस्सीको सम्झौता सन् २०२०-२१ सिजनको अन्त्यसँगै समाप्त हुनेछ । तर बार्टोमेउले गत महिना मेस्सीले क्लबमा नयाँ सम्झौता गर्नेमा विश्वस्त रहेको बताए ।
३३ वर्षीय मेस्सी आफ्नो पूर्व क्लब नेवेल्स ओल्ड ब्वाइज फर्कने चर्चा पनि चलेको थियो । तर बार्टोमेउ भने मेस्सीले बार्सिलोनाबाट नै सन्न्यास लिने दावी गर्छन् । क्लब इतिहासका सर्वाधिक गोलकर्ता मेस्सी सन् २०२३ सम्म बार्सिलोनामै रहेर सन्न्यास लिने सम्भावना छ ।
‘ मैले मात्र भनिरहेको छैन । मेस्सी आफैं पनि यहि भन्छन् की उनी बार्सिलोनामै रहेर सन्न्यास लिन चाहन्छन् । र मेस्सीलाई सन्न्यास लिन उत्तम क्लब भनेको बार्सिलोना मात्र हो,’ बार्टोमेउले बिइन स्पोर्ट्ससँग भने ।
‘मलाई कुनै शंका छैन की मेस्सीले ३-४ वर्षभित्र सन्न्यास लिँदा उनी बार्सिलोनाबाट नै बिदा लिनेछन्,’ उनले भने, ‘मेस्सी यसमा प्रष्ट छन् । उनी बच्चा हुँदादेखि नै यहाँ छन् । उनलाई क्लबको महत्त्व थाहा छ र उनी क्लब इतिहासको अभिन्न पाटो बनेका छन् ।’
‘उनी विश्व फुटबलका उत्कृष्ट खेलाडी हुन् । वर्तमान अवस्था मात्र नभएर फुटबल इतिहासकै महान । उनी बार्सिलोनामा छन् र उनले यो प्रष्ट पारेका छन् की उनी यहीं रहनेछन् ।’