एजेन्सी
इटालियन क्लब रोमालाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीमा बिहीबार राति भएको खेलमा सेभिल्लाले रोमालाई २–० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो ।
सेभिल्लाको जितमा सर्जियो रिगुइलन र युस्सेफ इन न्यास्रीले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको शुरुवातदेखि नै सेभिल्लाले रोमालाई दवावमा राख्दै गोल गर्न सफल भएको थियो । सातौं मिनेटमा लुकास ओकम्पासको प्रहारलाई रोमाका गोलरक्षक पोउ लोपेजले पञ्च गर्दै बचाए ।
१२औं मिनेटमा इभर बनेगाको कर्नरमा जुलेस कोउन्डेको फ्रि हेडर बारमा लागेर बाहिरिदा सेभिलला अग्रता लिनबाट चुक्यो । २१औं मिनेटमा सर्जयो रिगुइलनले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए । उनले इभर बनेगाको पासलाई सदपयोग गरेका थिए ।
३५औं मिनेटमा रोमाले बराबरीको अवसर खेर फाल्यो । इडेन जेकोको प्रहारलाई डिएगो कार्लाेसले ब्लक गरेपनि निकोलो जानिलोको प्रहार जुलेसलाई रिफ्लेक्ट हुदै बाहिरिएको थियो ।
४४औं मिनेटमा युस्सेफले लुकास ओकम्पासको पासमा गोल गर्दै सेभिल्लालाई पहिलो हाफमा २–० ले अघि बढाए । ५१औं मिनेटमा रोमाले पुनः अर्काे गोलको मौका गुमाउदा गोल अन्तर कम गर्ने अवसर खेर फाल्यो । जेकोको पासमा हेनरिक मिख्टरयानको प्रहार पोस्टबाट थोरै बाहिरियो ।
इन्ज्युरी समयमा इभर बनेगाको प्रहार बारमा लागेर फर्कदा सेभिल्ला अर्काे गोलबाट चुक्यो । अन्तिम समयमा रोमा १० खेलाडीमा समेटियो । लुक डि जङलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै जियानलुका मान्सिनीलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।
अब सेभिल्लाले क्वाटरफाइनलमा इंग्लिस क्लब वल्भ्सको सामना गर्नेछ । वल्भ्सले बिहीबार राति नै भएको खेलमा ग्रीसको ओलम्पियाकोसलाई १–० ले तथा समग्रमा २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो ।
वल्भ्सको जितमा राउल जिमिनेजले खेलको नवौं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । गोलरक्षक बोबी एलियनको गल्तीमा वल्भ्सले पेनाल्टी पाएको थियो । जसलाई जिमिनेजले सदुपयोग गरे । २८औं मिनेटमा ओलम्पियाकोसका मोहमेद माडी कामराले गोल गरेपनि उनी भिएआरमा अफसाइड ठहरिए ।