एजेन्सी ।
युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा इटालियन क्लब नेपोलीको आतिथ्यता गर्दैछ ।
खेल नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सुरु हुनेछ । पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका कारण बार्सिलोनालाई यही नतिजा कायम राख्न सकेपनि अर्काे चरण पुग्न पर्याप्त हुनेछ । तर, घरेलु मैदान नोउक्याम्पमा बार्सिलोना नेपोलीलाई हराउँदै अघिल्लो चरणमा पुग्ने दाउँमा हुनेछ ।
गोलरहित बराबरीले बार्सिलोना अघि बढ्नेछ । पराजित भएको खण्डमा बार्सिलोना बाहिरिनेछ । तर, खेलाडीको चोटको कारण बार्सिलोनालाई नेपोलीविरुद्ध जित निकाल्न धेरै नै मिहेनत गर्नुपर्नेछ । प्रशिक्षक क्विके सेटिनले चोटसँग जुधिरहेको एन्टोइन ग्रिजमनलाई टोलीमा समेटेको छ ।
लियोनेल मेस्सी, लुइस सुआरेज, अन्सु फाती, जेरार्ड पिके, क्लेमेन्ट लेङलेट, जोर्डी अल्वा, इभान राकिटिच, सर्जियो रोबर्टाे, फ्रान्की डि जोङ, जुनियर फिर्पाे र मार्क आन्द्र टेर स्टेगन टोलीमा हुनेछ । प्रतिबन्धका कारण आर्टुरो भिडाल र सर्जियो बुस्क्वेट्स टोलीमा हुनेछैन ।
यता, नेपोली पनि बार्सिलोनालाई पराजित गर्दै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । नेपोलीलाई अघिल्लो चरण पुग्न कम्तीमा पनि १–० को जितको खाँचो छ । नेपोलीका लागि लोरेन्जो इन्सिग्ने, ड्रिएस मेर्टिन्स, जोस मारिया कालेजोन, फावियन, मारियो रुई, जियोभानी डि लोरेन्जो र डेभिड ओस्पिना बार्सिलोनाविरुद्धको खेलमा हुनेछ ।
यि दुई टोलीबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा बार्सिलोना हावी छ । बार्सिलोनाले तीन खेल आफ्नो पक्षमा पार्दा १ खेल नेपोलीले जितेको छ । एक खेल बराबरीमा सकिएको छ ।