एजेन्सी – स्पेनि राष्ट्रिय टोली तथा स्पेनिस क्लब भिल्लारियलका भेट्रान मिडफिल्डर सान्टी काजोर्ला कतारी क्लब अल सादमा अनुबन्धित भएका छन् ।
भिल्लारियलमा सम्झौता सकिएपछि इंग्लिस क्लब आर्सनलका पूर्व मिडफिल्डर काजोर्ला क्याटलान क्लब बार्सिलोनाका लेजेन्ड जाभी प्रशिक्षक रहेको अल सादमा अनुबन्धित भएका हुन् । उनको सम्झौता अवधि र सम्झौता रकम खुलाइएको छैन । ३५ वर्षीय काजोर्लालाई इंग्लिस क्लब आर्सनलमा मिकेल अर्टेटाको सहायकको रुपमा प्रस्ताव गरिएपनि उनले कतारको च्याम्पियन अल साद रोजेका हुन् ।
अल सादमा अनुबन्ध भएपछि कार्जाेलाले कतारको ठूलो क्लबबाट खेल्न पाउनु आफ्नो लागि ठुलो सम्मान रहेको बताएका छन् । कतार आउने निर्णयमा जाभीले धेरै मद्दत गरेका काजोर्लाले बताएका छन् । ‘उहाँ खेलाडी हुदा मेरो आदर्श खेलाडी हुनुहुन्थ्यो । उहाले एक प्रशिक्षकको रुपमा मेरो लागि उदाहारण बसाल्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु । मेरो लक्ष्य लक्ष्य अल सादबाट सबै कुरा जित्नु हो,’ काजोर्लाले भने ।
आर्सनलका पुर्व मिडफिल्डर उनले दुई सिजन भिल्लारियलमा बिताएका थिए । उनले आर्सनलका लागि १८० खेल खेल्दा २९ गोल गरेका छन् । उनले आर्सनलबाट लगातार दुई सिजन २०१४ र २०१५ मा एफए कप जितेका थिए ।
२०१५ मा कतार जानुअघि जाभीले बार्सिलोनाका लागि ७६७ खेल खेल्दै विभिन्न २५ उपाधि जितेका थिए । उनले अल सादमा केही सिजन खेल्दै अल सादकै प्रशिक्षक बनेका थिए ।