एजेन्सी ।
इटालियन च्याम्पियन युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला अनुबन्धन गर्न स्पेनिस च्याम्पियन रियल म्याड्रिडले आफ्ना दुई खेलाडीसहितको प्रस्ताव अगाडि सार्ने तयारी गरेको छ ।
गत समरमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र टोटेनहम हट्सपरले डिबालालाई अनुबन्ध गर्ने प्रयास गरेका थिए । टोटेनहम र युभेन्टसबीच खेलाडी ट्रान्सफरको लागि रकममा सहमति भएपनि खेलाडीको तस्बिर अधिकारको पक्षमा एजेन्ट र क्लबबीच सहमति नहुँदा ट्रान्सफर रोकिएको थियो । त्यसयता डिबालाले युभेन्टसमा उत्कृष्ट प्रदर्शन गर्दै लिग उपाधि दिलाउने क्रममा लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
इटालियन संचारमाध्यम स्पोर्ट्समिडियासेटका अनुसार रियल म्याड्रिडले डिबालाका लागि मिडफिल्डरद्वय टोनी क्रुस र इस्को सहितको प्रस्ताव ल्याउने तयारी गरेको छ । युभेन्टससँग नयाँ सम्झौताका लागि छलफलमा रहेका डिबालाले यसअघि नै क्लब छाड्ने मनासय बनाएका थिए । रोनाल्डोको आगमनपछि प्रशिक्षकको छनोटमा दोस्रो रोजाईमा रहेका उनले अन्यत्र भविष्य खोजेका हुन् ।
रोनाल्डो आएको सिजन पर्याप्त मौका नपाएका डिबालाले यस सिजन भने राम्रो अवसर पाए । युभेन्टसले लिग उपाधि जित्दा कोप्पा इटालियाको फाइनलमा नेपोलीसँग हार बेहोर्नुपर्यो । च्याम्पियन्स लिगमा पनि डिबाला घाइते हुँदा युभेन्टस लियोनसँग अवे गोलको आधारमा राउन्ड अफ १६ बाट नै बाहिरियो । यता रियल पनि लिग उपाधि जित्नका बाबजुद च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्न सकेन ।
जिदानको रोजाइमा पर्न संघर्षरत इस्को र सम्झौताको अन्त्यतिर रहेको क्रुसलाई रियलले युभेन्टस पठाएर केहि रकम थप्नेछ । मिरालेम प्यानिच बार्सिलोना गएपछि मिडफिल्डमा केहि समस्या हुने देखिएकाले रियल युभेन्टसलाई उपयुक्त खेलाडी दिन चाहन्छ । रियल आक्रमणमा केहि कमजोर रहेकाले डिबालालाई भित्र्याउन चाहन्छ ।