एजेन्सी ।
जर्मन क्लब बायर लिभरकुसनमाथि जित निकाल्दै इटालियन क्लब इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मनीमा सोमबार राति भएको खेलमा इन्टरले लिभरकुसनलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
सबै तीन गोल पहिलो हाफको २५ मिनेटभित्र १० मिनेटको अन्तरमा भएको थियो । प्रतिस्पर्धात्मक खेलको १५औं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इन्टर मिलानले खेलमा अग्रता बनाएको थियो । रोमेलु लुकाकुको प्रहारलाई डिफेन्डरले ब्लक गरेपनि रिवाउन्डमा बरेल्लाले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
२१औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै इन्टर मिलानको अग्रता दोब्बर पारे । एस्ले योङको पासमा पेनाल्टी बक्सभित्रबाट इडमुन्ड टपसोवासँगको रस्साकस्सीपछि लड्दै गरेको फितलो प्रहारले जाली चुमेको थियो । त्यसको दुई मिनेटपछि नै ब्रोजोभिकको पासमा काउन्टर अट्याकमा रामेलु लुकाकुले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारलाई लिभरकुसनका गोलरक्षक लुकास ह्राडेच्कीले बचाए ।
२५औं मिनेटमा केभिन भोलान्डको पासमा आउदो समरमा इंग्लिस क्लब चेल्सी जाने तयारीमा रहेको कप्तान काई हाभर्टजले गोल गर्दै लिभरकुसनलाई खेलका फर्काउने संकेत दिएका थिए । २८औं मिनेटमा इन्टर मिलानले पेनाल्टी अपिल गरेपनि भिएआरबाट मान्यता पाएन ।
दोस्रो हाफमा दुवै टोलीले गोलका केही प्रयास गरेपनि थप गोल निस्कन नसक्दा इन्टर मिलान २–१ ले विजयी हुन सफल भयो । इन्ज्युरी समयमा इन्टरले अर्काे पेनाल्टीको अपिल गरेपनि भिएआरबाट पुन मान्यता पाएन ।
अब इन्टरले सेमिफाइनलमा युक्रेनी क्लब साख्तर डोनेक्स र स्वीस क्लब एफसी बसेलबीचको विजेतासँग खेल्नेछ ।