काठमाडौं,
कतार विश्वप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलको लागि बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको ११ सदस्यसहित २५ जनाको कोरोना टेस्ट नेगेटिभ आएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा सोमबार गरिएको स्वाब संकलनको बुधबार नतिजा आउँदा सबै २५ जनाकै कोरोनाको पीसीआर टेस्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । सोमबार उपत्यका बाहिरबाट आएका विशाल राई, देवेन्द्र तामाङ, रवि पासवान, रन्जित धिमाल, मिक्छेन तामाङ, पुजन उपरकोटी, विमल राना, दीप कार्की, छिरिङ गुरुङ, दिलेन लोक्ताम र दर्शन गुरुङको तथा फिजियो आविस्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको स्वाव संकलन गरेको थियो ।
यस्तै एन्फा होस्टेलका ६ जना किचेन स्टाफ, २ स्टाफ र ४ जना सहयोगीको स्वाव संकलन गरिएको थियो । मंगलबार स्वाव संकलन गरिएका अन्य खेलाडी र अफिसियलको बिहीबार रिपोर्ट आउन सक्नेछ । एन्फाले सोमबार र मंगलबार दुई दिनमा ३४ खेलाडीसहित ५४ जनाको स्वाव संकलन गरेको थियो ।