एजेन्सी ।
इंग्लिस स्टार डेविड बेकह्यामको क्लब इन्टर मायमीले इटालियन च्याम्पियन युभेन्ट्सका फ्रेन्च मिडफिल्डर ब्लेइस माटुइडीलाई अनुबन्धन गरेको छ ।
फ्रान्सले २०१८ विश्वकप जित्दा टोलीका सदस्य रहेका माटुइडीलाई अमेरिकी मेजर लिग सकर (एमएलएस) मा खेल्दै आएको इन्टर मायमीले अनुबन्ध गरेको हो । युभेन्ट्सले सम्झौता अवधि एक वर्ष बाँकी रहँदै उनलाई फुकुवा गरेपछि माटुइडीले पूर्व सहकर्मी बेकह्यामको क्लब रोजेका हुन् ।
बेकह्याम र माटुइडीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट सँगै खेलेका थिए । यससँगै बेकह्याम र माटुडीको पुर्नमिलन हुने भएको छ । ‘मेरो साथी ब्लेइसलाई इन्टर मायमीमा स्वागत गर्न पाउँदा म खुशी छु । उनी एक रमाइलो र प्रतिभाशाली खेलाडी हुन्,’ बेकह्यामले भने, ‘हाम्रो नयाँ टिममा ब्लेइस जस्तो विश्वविजेता खेलाडी हुनु गर्वको क्षण हो । यो मालिक र प्रशंसकहरुको लागि पनि खुशीको क्षण हो ।’
माटुडीले मायमीबाट डेब्यु खेलको लागि सेप्टेम्बर पहिलो सातासम्म कुर्नुपर्ने छ । उनले कोभिड–१९ को परिक्षण गरेपछि क्वारेन्टिनमा बस्नुपर्ने छ । ‘मलाई आशा छ । हामी सँगै धेरै ट्रफीहरु जित्नेछौं,’ सम्झौतापछि माटुइडीले भने, ‘यो मेरो लागि ठुलो चुनौती हो र म मेरो नयाँ टिमका साथीहरु र समर्थकहरु हेर्न पाउँदा उत्साहित छु । म सक्दो मेहेनत गर्नेछु ।’
बक्स टु बक्स मिडफिल्डर माटुइडी सन् २०१७ मा पीएसजीबाट युभेन्ट्स पुगेका थिए । उनले युभेन्ट्सबाट तीन सिरी ‘ए’ उपाधि जितेका छन् । यस्तै माटुइडीले पीएसजीबट चार पटक फ्रेन्च लिग वान उपाधि जितेका थिए ।