जनादेश वाच।
करिब एक वर्षअघि सुरु भएको एमाले बाहेकका वामपन्थी दलहरुको मोर्चा बनाउने प्रयास निष्कर्ष नजिक पुगेको नेताहरुले बताएका छन् । उनीहरुका अनुसार केही दिनभित्र समाजवादी मोर्चाको घोषणा गर्ने गरी गृहकार्य भइरहेको छ । समाजवादी केन्द्र निर्माणका लागि एकीकृत समाजवादीले गठन गरेको वार्ता समिति सदस्य गंगालाल तुलाधारका अनुसार मंगलबार मात्र पनि चारवटा पार्टीका नेता सम्मिलित वार्ता समितिको बैठक बसेको थियो । एक-दुई दिनभित्रै मोर्चा घोषणा गर्ने तयारी भइरहेको बताए।
छलफलमा सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र संसद बाहिर रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने यो मोर्चामा नअटाउने सम्भावना बढेको छ ।
चार दलले समाजवादी केन्द्र बनाउने विषयमा छलफल चलिरहँदा नेसपाका नेताहरू भने यस विषयमा अनभिज्ञ छन् । नेसपा अध्यक्ष भट्टराई गृहजिल्ला गोरखामा छन् । वार्ता समितिमा रहेका पार्टी सहअध्यक्ष गंगानारायण श्रेष्ठ बागमती प्रदेशको बजेट निर्माणसम्बन्धी कामका कारण प्रदेश राजधानी हेटौँडामा व्यस्त छन् । समाजवादी मोर्चा बनाउन छलफलमा बसिरहेका चार पार्टीका नेताहरूले यसलाई हाल ‘लुज फोरम’का रूपमा मात्रै अघि बढाउने मोटामोटी सहमति गरेका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार दाङ जाने पूर्वनिर्धारित कार्यक्रम भएकाले बिहीबार वा शुक्रबारसम्म मोर्चा घोषणा हुनसक्छ । ‘प्रधानमन्त्रीजीको कार्यव्यस्तताका कारण बुधबार नै घोषणा गर्न सम्भव छैन । तर एक-दुई दिनभित्रै घोषणा गर्ने सहमति बन्यो,’ ती नेताले भने, ‘हाल चार पार्टीबीच मात्रै घोषणा गर्ने र पछि अरूलाई पनि समेटेर जाउँ भन्ने भएको छ । अब प्रमुख नेताहरूको समय मिलाएर घोषणा हुन्छ ।’
नेताहरुकका अनुसार समाजवादी मोर्चा निर्माणका लागि बनेको वार्ता समितिले कुनै ठोस संरचना नबनाएर सैद्धान्तिक घोषणा मात्र गर्ने प्रस्ताव गरेको छ ।
प्रचण्ड र बाबुरामबीच छैन संवाद
आम निर्वाचनअघि भावी प्रधानमन्त्रीको सपना बुनिरहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेे जनता समाजवादी पार्टी (जसपा)का तत्कालीन संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई समाजवादी केन्द्र निर्माणको प्रस्ताव राखेका थिए । त्यसअघि बाबुराम स्वयं विद्यमान पार्टीहरूले मुलुकको संकट समाधान नहुने र समाजवादी केन्द्र निर्माण गर्नुपर्ने बताउँदै आएका थिए । दुई नेता बीचको सम्बन्ध यति निकट भयो कि चितवनबाट चुनाव लड्ने योजनामा हिँडिरहेका प्रचण्ड, बाबुरामले निरन्तर चुनाव जित्दै आएको गोरखाबाट उम्मेदवार बन्ने तय भयो । बाबुरामले आफू पार्टी निर्माणको सैद्धान्तिक राजनीतिक काममा लाग्ने र प्रचण्डले नै सांगठनिक तथा राजनीतिक काम गर्ने बताउँदै आएका थिए । तर अहिले प्रचण्ड र बाबुरामबीच सघन संवाद हुन नसकेको स्रोत बताउँछ । सत्ता समीकरण फेरबदल र अस्थिर राजनीतिका कारण प्रचण्डले समाजवादी केन्द्र निर्माणको विषयमा समय दिन नसकेजस्तो देखिए पनि राष्ट्रपतिको निर्वाचनपछि प्रचण्ड र बाबुरामबीच दुरी बढ्दै गएको उनीहरू निकट नेताहरू बताउँछन् ।
बाबुरामले आफू निरन्तर जित्दै आएको निर्वाचन क्षेत्र नै छाड्नु र प्रचण्डको प्रशंसा गर्नुका पछाडि उनको एउटा स्वार्थ देखिन्थ्यो, माओवादीलगायत वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउने । त्यसका लागि निर्वाचनलगत्तै एमाले र माओवादी केन्द्रलगायत दलबीच गठबन्धन बनेपछि पनि बाबुरामले केपी ओली र प्रचण्डसँग समाजवादी केन्द्र बनाउनु पर्ने विषयमा निरन्तर संवाद गरेका थिए । त्यसमा प्रचण्डले एक कदम अघि बढेर उनीसँग पार्टी एकताकै प्रस्ताव राखे पनि एमाले अध्यक्ष ओलीले भने ‘सोच्न सकिने’ भनेर मात्रै प्रतिक्रिया दिएका थिए । तर जब प्रचण्डले एमालेसँग मिलेर प्रधानमन्त्री बनेको एक महिना नपुग्दै गठबन्धन परिवर्तन गरेर कांग्रेससँग सत्ता सहकार्य थाले त्यसपछि उनी र बाबुरामबीच दुरी बढेको नेताहरूको बुझाइ छ ।
बाबुराम गोरखातिर
समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी चलिरहेका बेला बाबुराम भट्टराईले भने गृहजिल्ला गोरखा पुगेर ६ महिने संगठन अभियान सुरुवात गरेका छन्। उनी दुई दिनमा जिल्लाको क्षेत्र नम्बर २ का प्रायः सबै वडा पुगे। भट्टराईको सचिवालयका अनुसार आगामी मंसिरसम्मका लागि नयाँ संगठन बनाउने र विस्तार गर्ने कार्य अघि बढाइएको छ।
गोरखा डा. भट्टराईको जन्मस्थान पनि हो। उनले सो क्षेत्रबाट २ पटक संविधान सभा चुनाव र संविधान जारी भएपछि १ पटक प्रतिनिधि सभाको चुनाव जितेका छन्। यसपटक ४ मंसिरको चुनावमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छोडिदिए। मोर्चा हुँदै पूर्वमाओवादी घटकसँग एकता गर्ने तयारी भइरहेको थियो।
पटकपटक छलफल भएर एकता गर्न १९ बुँदे प्रस्ताव तयार पारेर अध्ययनका लागि प्रचण्डलाई दिएको ३ महिना भइसकेको छ। माओवादीका नेताहरुका कारण बलियो बन्नुपर्ने अवस्था आएको नेसपाका नेता बताउँछन्। एकले अर्कालाई सम्मान गर्नुको साटो बलियो र निर्धा भनेर व्यवहार गरिएको उनीहरुको गुनासो छ।
‘माओवादीका नेताहरुले हेप्ने, अपमान गर्ने, घेराबन्दी गर्ने, तारबन्दी गरे,’ नेसपाका एक नेताले भने, ‘उनीहरुमा अझै दम्भ घटेको छैन। संख्याको हिसाब गरेर खिसीट्युरी गर्न थालेपछि बलियो बन्ने प्रयासमा जुटेका हौं। माओवादी केन्द्र र नेसपालाई रुपान्तरण गर्दै नयाँ शिराबाट अघि बढ्ने सहमति समेत पालना भएन।’
हदै भएपछि पार्टी बलियो बनाउनु नै एक मात्र विकल्प रहेको भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले बताए। प्रचण्डले निर्वाचन क्षेत्रमा गएर जनतालाई नभेटेको गुनासो मतदाताबाट आएको उनको भनाइ छ। ‘२ नम्बर क्षेत्रका मानिसले प्रचण्डलाई भेट्न नपाएपछि असन्तुष्ट रहेछन्,’ पोखरेलले भने, ‘डा.साबको आफ्नै क्षेत्र भएकोले उहाँलाई खोज्ने नै भए। डा. साबले प्रत्येक महिना गृहजिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने नीति नै बनाउनुभएको छ।’
‘२ नम्बर निर्वाचन क्षेत्रका जति मानिस भेट्यौँ, उहाँहरुले हामी अभिभावकविहीन भयौँ भनेर गुनासो गर्नुभयो,’ पोखरेलले थपे, ‘त्यही भएर यसपटक सबैतिर पुग्ने कोसिस भयो। वर्षाका कारण बारपाक–सुलिकोट पुग्न सकिएन। फेरि अभियान लिएर जान्छौं।’
नेसपाका नेताहरु माओवादीले नजरअन्दाज गरेकोप्रति असन्तुष्ट छन्। देशभर सानो पार्टी, कम नेता रहेको भन्दै क्षमताको सम्मान नगरेकोप्रति उनीहरु गुनासो पोख्छन्। दुई दिन गोरखा बस्दा बाबुरामले भ्याएसम्मका मानिसलाई भेटे। टोल भेला, वडा र पालिका भेला राखेर जनताका चासो र सरोकार बुझ्ने प्रयास गरे। चुनावी शैलीमा उनले गरेको कार्यक्रम हेरेर अनेकन अड्कलबाजी हुन थालेको छ।