जनादेश वाच।
कम्युनिस्टसहितका चार दलको समाजवादी मोर्चा घोषणाको तयारी भएको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी भएको हो । विप्लवको पार्टी संसद् बाहिरको दल हो ।
स्रोतका अनुसार नेकपाका महासचिव विप्लव पनि समाजवादी मोर्चामा सामेल हुन सहमत भएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँगको छलफलपछि विप्लव समाजवादी मोर्चामा आउन सहमत भएको महरानिकट स्रोतको दाबी छ ।
यसअघि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार दाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै समाजवादी मोर्चा घोषणा अन्तिम चरणमा पुगेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘समाजवादी मोर्चा घोषणा छिट्टै गर्दैछौँ । मोर्चाको दस्तावेज तयार पनि भइसकेको छ । नेकपालाई बचाउन सकिएन । अब समाजवादी मोर्चा बनाएर कम्युनिष्टहरू एक ठाउँमा उभिन्छौँ ।’
नेकपा एसका नेता गंगालाल तुलाधारले आज (शुक्रवार) नै मोर्चाको घोषणा गर्ने तयारी भएको जानकारी दिए । ‘हामी सरकारमा पनि सहभागी छौं । यसमा मत मिल्नेबीच समाजवादी मोर्चा बनाएर जानेबारे अन्तिम गृहकार्य भएको छ’ तुलाधरले भने, ‘हाम्रो समाजवादीको पनि शुक्रवार बिहान बैठक डाकिएको छ । सम्भवतः शुक्रवार नै मोर्चा गठन गरेर जानेसम्मको तयारी छ ।’
मोर्चामा आवद्ध हुने शीर्ष नेताले संयुक्त पत्रकार सम्मेलन गरेर मोर्चा गठनको जानकारी गराउने तुलाधर बताउँछन् । माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले पनि समान मत भएका दलबीच तत्काल संयुक्त सहकार्य गर्ने तयारी भएको जानकारी दिए । ‘समाजवादी मोर्चाको लागि संयुक्त डकुमेन्ट बनिरहेको छ । यसको अन्तिम तयारी पनि भएको छ’ पोखरेलले भने, ‘माओवादीको केन्द्रीय कमिटीको बैठकपछि मोर्चा घोषणा गर्ने कि अगाडि नै गर्ने भन्नेमा प्रष्ट भइसकेको छैन । आवश्यक तयारी हुँदा छिट्टै घोषणा हुन पनि सक्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारमात्रै दाङ पुगेर मोर्चा घोषणा गर्ने तयारी भइरहेको बताएका थिए ।
समान एजेण्डा भएका दलबीच तत्काल पार्टी एकता सम्भव नहुँदा मोर्चा बनाएर सहकार्य गर्ने विकल्प भएको पोखरेल बताउँछन् । यो मोर्चामा तत्काल डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने तत्काल सहभागी नहुने भएको छ । नेता पोखरेलले भट्टराई र उपेन्द्र यादवको टसलले थप एक दल तत्काल मोर्चामा जोडिने सम्भावना कम रहेको बताए । यद्यपि भट्टराईलाई पनि समेट्ने प्रयास भइरहेको उनको भनाइ छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले पनि ६ महिनादेखिको प्रयासले मूर्तरुप लिन लागेको जानकारी दिए । ‘कुराकानी भइरहेको छ । समाजवादी शक्ति, परिवर्तनकारी शक्तिलाई एउटै समाजवादी मोर्चामा आवद्ध गर्ने कुरा ६ महिनादेखि भइरहेको छ’ यादवले भने, ‘तर घोषणा गर्ने तयारी भए पनि आजै मितिको टुंगो लागिसकेको छैन ।’
३२ सिटको माओवादी, १२ सिटको जसपा, १० सिटको नेकपा एस र विप्लवको पार्टी एक ठाउँमा उभिए संसदमा यी दलको ५४ सिट पुग्नेछ । तत्काल कम्युनिस्टबीच एकता सम्भव नभएपछि मोर्चा बनाएर भए पनि बलियो हुने र एकतासम्म पुग्ने नीति दलहरूले लिएका हुन् । मोर्चा बन्दाको सत्ता गठबन्धनमा कांग्रेसलाईसमेत दबाब बढाउन सकिने विश्वास माओवादी, जसपा र नेकपा एसको रहेको बताइन्छ ।
प्रचण्डले समाजवादी मोर्चामा नेसपा अध्यक्ष भट्टराई र एमाले छाडेर नेकपा एकता अभियान चलाइरहेका वामदेव गौतम पनि सामेल हुने बताएका थिए । तर, तत्काल घोषणा हुने मोर्चामा बाबुराम नेतृत्वको नेसपा र वामदेव भने सहभागी हुने टुंगो लागेको छैन ।