समाजवादी मोर्चासँगै विप्लवको उद्घोषः यो देश बनाउने जिम्मा हाम्रो – Janadesh Daily | ePaper

समाजवादी मोर्चासँगै विप्लवको उद्घोषः यो देश बनाउने जिम्मा हाम्रो


नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले देशको टाउकोमा थुप्रै समस्या भएको राज्य अतिक्रमणमा परेर नागरिकमा छटपटी भएको बताएका छन् ।

सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले अहिले देश सामान्य परिस्थितिमा नभएको भन्दै यसविरूद्ध लडाइँ लड्न आवश्यक भएको बताएका छन् ।

‘यो संसार जित्नेहरूको हो । यो देश बनाउने जिम्मा हाम्रो हो । अन्यायविरुद्ध जो लड्न तयार हुन्छ, त्यसले हारेको इतिहास छैन उसलाई हराउने तागत कसैसँग छैन,’ उनले भने, ‘हामीले सामन्तावादलाई तोडेका छौँ। नेपाली जनता गरिब भएका छन् केही मान्छेले पैसा लुकाएका छन् । दलाल पुँजीवाद नेपाली जनतालाई स्वीकार छैन । नेपाली जनताले मुक्तिको बाटो कोर्ने हो कुनै पनि मूल्यमा हाम्रो भविष्य शासक र विदेशीको हुँदैन जनताको हुनेछ ।’

उनले देशमा युवा पुस्तालाई निराश बनाएर अस्मिता लुट्ने काम भइरहेको बताए । नेपाली स्वाधिन बन्न चाहेको र कुनै पनि देशको गुलाम भएर बाँच्न नचाहेको भन्दै उनले देशलाई अहिलेको परिस्थितिबाट मुक्त गर्न समाजवादी मोर्चा आवश्यक भएको जिकिर गरे । उनले समाजवादी मोर्चा इतिहासको नवीन सोच भएको दाबी समेत गरे ।

‘हामी लामो छलफल र तपाइहरुको चाहना अनुरूप देशलाई आजको परिस्थितिबाट मुक्त गर्नुपर्छ । देशलाई आँखा लगाउने र नेपाली जनताको अधिकारका लागि नयाँ लडाइँ अघि बढाउनुपर्छ भनेर यो इतिहासमा नयाँ सोच हो, नयाँ राजनीतिक मोड र प्रयोग हो । इतिहासमा यस्तो भएको छैन,’ उनले थपे, ‘सरकार मा भएको पार्टी पनि यहाँ छ ,हामी जनताको बीचमा भएको पार्टी पनि यहाँ छौँ । यसले जिम्मेवारी बोध भएको छ । हाम्रो प्रतिबद्धता छ यो मोर्चाले शहीद वेपत्ता युवाको सपना बोकेको छ । नेपाली जनताले समाजवाद चाहेको छ स्वाधिन नेपाल चाहान्छ र यो मोर्चा सोही कुरा बोकेर अघि बढ्छ ।’

महासचिव विप्लवले नेपालको हरेक युवाहरूलाई प्रशिक्षित गर्नेभन्दै वैज्ञानिक समाजवादको लक्ष्यमा दृठ संकल्पमा रहेको र नेपाली विशेषता सहितको समाजवाद बनाउनेमा दृण संकल्पमा मोर्चा रहेको दाबी गरे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्