एजेन्सी ।
पछिल्लो केहि वर्षयता बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीले क्लब छाड्ने चर्चा चल्ने गरेको छ । अझ टोलीले उच्च प्रदर्शन गर्न नसक्दा उनको सरुवाको चर्चा झनै बढी चुलिने गरेको छ । अहिले फेरि मेस्सीले बार्सिलोना छाड्न सक्ने अनुमान हुन थालेका छन् ।
लिभरपुल लेजेन्ड ग्राएम सुनेसले मेस्सी सनसनीपूर्ण रुपमा म्यानचेस्टर युनाइटेड जान सक्ने विश्वास व्यक्त गरेका छन् । उनले त अझ यहि साता सम्झौता हुन सके त्यो ठिक हुने विचार समेत व्यक्त गरेका छन् ।
मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले शुक्रबार च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बार्यन म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि क्याटलान क्लबमा उनको भविष्यका बारेमा चर्चा फेरि सुरु भएको छ । युरोपियन फुटबलमा प्रतिस्पर्धात्मक बन्नका लागि टोलीमा तलैबाट पूर्ननिर्माण गर्नुपर्नेमा बार्यनसँगको हारपछि जेरार्ड पिकेले बताएका थिए । त्यसअर्थ क्लबका प्रशिक्षक किके सेटिन बर्खास्त हुने सम्भावना बलियो रहेको छ ।
मेस्सीले अहिलेसम्म आफ्नो व्यवसायिक खेल जीवन बार्सिलोनामा मात्र बिताएका छन् । क्लबसँगको उनको सम्झौता अब एक वर्ष बाँकी रहेको छ । त्यसअर्थ पनि उनले अर्को क्लबको बाटो रोजे आश्चर्य नहुने बताइएको छ । लिभरपुलका महान खेलाडी सुनेसले दुवै म्यानचेस्टर टोली अर्जेन्टिनी कप्तानका लागि उत्कृष्ट हुन सक्ने बताएका छन् ।
‘मेस्सी त्यस्ता खेलाडी हुन्, जसले टोलीको जिम्मेवारी एक्लै बोक्ने क्षमता राख्नछन् । उनको विना टोलीसँग च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गर्ने क्षमता हुने छैन , ‘उनले लेखका छन्, ‘अर्को क्लब जानका लागि मेस्सीका लागि यो सहि साता हो । मेरो नजरमा उनी म्याचेस्टर युनाइटेड वा सिटीबाट खेल्न सक्षम छन् ।’
दुई म्यानचेस्टर टोलीमध्य सिटी मेस्सीलाई भित्राउनेमा झनै बढी इच्छुक देखिन्छ । कारण सिटीका प्रशिक्षक ग्वार्डिओला र मेसीले केहि वर्ष सहकार्य गर्ने क्रममा नोउ क्याम्पमा सँगै इतिहास रचेका छन् । सिटीले पछिल्लो समय च्याम्पियन्स लिगमा क्वाटरफाइनल चरण पार गर्न नसक्दा मेस्सीको अनुभव टोलीलाई काम लाग्न सक्छ ।
छ पटकका बालोन डी ओर विजेता मेस्सीलाई भित्राउन सिटी जत्ति पनि खर्च गर्ने मनस्थितिमा रहेको पनि बताइएको छ । यद्दपी यो सिजन उनको अघिल्ला वर्षहरु जस्तो उत्कृष्ट रहन सकेन । त्यसका वावजुद पनि मेस्सीलाई लिन सके त्यो सनसनीपूर्ण सरुवा हुनेछ ।
इन्टर मिलानले पनि मेस्सीलाई लिनेमा गहिरो चासो राखेको छ । तर, आर्थिक कारणले दुई म्यानचेस्टरको अगाडि इन्टरले प्रतिस्पर्धा गर्न कठिन देखिन्छ ।