जनादेश वाच।
एक समय पार्टी क्रियाकलापदेखि दिक्दार भएका कांग्रेस महामन्त्री गगन थापाको भनाइ थियो- अब त अति भयो ।’ वैशाख २४ मा उनले सामाजिक सञ्जालमा आफूले राखेका विषयहरू प्रवेश नपाएको लेखेका थिए, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’
अब भने थापा आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन् । उनी सभापति शेरबहादुर देउवालाई संसदीय दलकाे नेताबाट हटाएर आफू नेता बन्न चाहन्छन् । उनले शनिबार विराटनगरमा भने, ‘गणित पुगेपछि संसदीय दलकाे नेता बन्छु ।’
उनी देउवालाई विस्थापित गर्नुपर्ने निष्कर्षमा पुग्नुका पछाडि केही कारण छन् । पार्टीमा कुन समयमा के गर्ने भन्ने क्यालेण्डर ल्याउने भनिरहेको उनको कुरा सुनुवाई भएको छैन । पदाधिकारी भएपछि जवाफ दिने ठाउँमा पुगेका उनले जवाफ दिन सकेका छैनन् ।
पार्टीको विभाग र भ्रातृ संगठनको तदर्थ समितिलाई वैशाख महिनाभित्र पूर्णता दिने बताएका थापाले त्यसको दुई महिना वितिसक्दासमेत बोलेको काम गराउन सकेका छैनन् ।
गत वर्ष चैत ३० गते नीति अधिवेशन सम्भव भए जेठ महिनाभित्र सकाउने बताएका महामन्त्री थापाले जेठ २० गते पुग्दा भदौ महिनाभित्र सकिने बताउन थाले । अब नीति अधिवेशन दसैँपछि पछिमात्र हुने नेताहरू बताउँछन् । त्यसमा पनि नीति अधिवेशन कि महासमिति बैठक भन्ने बहस सुरु भएकाे छ ।
देउवाबाट पार्टी र संसदीय दल चल्न नसक्ने निष्कर्षमा पुगेकाले थापा आक्रामक बनेकाे उनीनिकटक नेताहरू बताउँछन् । त्यसैले सार्वजनिक मञ्चमा उनले संसदीय दलकाे नेता परिवर्तनकाे विषय उठाइरहेका छन् ।
गत वर्षको पुस ६ मा सम्पन्न कांग्रेस संसदीय दलको चुनाव थापा सभापति देउवासँग फराकिलाे अन्तरले पराजित भएका थिए । देउवाले ६४ मत पाउँदा थापाले केवल २५ मत पाएका थिए । त्यतिबेला विश्वास गरिएका नेताहरूबाट धोका पाएको विश्लेषण भए पनि थापाले सबैलाई विश्वासमा लिनुपर्ने भएकाले सबैको मत पाएको बताउने गरेका थिए ।
महामन्त्री थापाले शनिबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै थापाले संसदीय दलको नेता फेर्ने आफ्नो इच्छा दोहोर्याए । ‘आजको दिनमा देशको आवश्यकताका आधारमा म नेपाली कांग्रेसको संसदीय दललाई राम्रोसँग हाँक्न सक्छु र सबैभन्दा राम्रोसँग हाँक्न सक्छु भन्ने ठान्छु । त्यसकारणले मैले त्यसका निम्ति प्रयास गर्ने कुरा स्वाभाविक हो । साथीहरूको संख्याले मेरो प्रयासलाई सार्थकता दिन्छ भनेर जतिबेला मलाई महसुस हुन्छ, त्यतिबेला स्वाभाविक रुपमा प्रयास हुन्छ,’ थापाले भने ।
कांग्रेस संसदीय दलमा ८७ जना छन् । गएकाे चुनावमा थापाले २५ मत मात्र पाएका थिए । अब देउवालाई विस्थापित गर्न कम्तीमा ४४ मत चाहिन्छ । त्याे थापाले यसै कार्यकालका कसरी पुर्याउँछन् भन्ने प्रश्नकाे जवाफ अहिले भेटिँदैन ।
कांग्रेसले प्रधानमन्त्री पाएको बेलामा कांग्रेसका भूतपूर्वप्रधानमन्त्री नै फेरि प्रधानमन्त्री बन्नु नहुने तर्क अघि सार्दै आएका छन् । अहिलेको आवश्यकता आफू वा आफ्नो पुस्ताका नेताहरू प्रधानमन्त्री हुनुपर्ने उनको जोड छ । उनको भनाइ थियो, ‘त्यसैले फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा त म लाग्छु । सके बदल्छु । सके आफू बन्छु । नसके अर्कोलाई बनाउँछु ।’
देउवाबाटै सिकेको तर्क
आइतबार संसद् परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाबाटै आफूले संसदीय दलको नेता बदल्नुपर्छ भन्नेकुरा सिकेको बताए। उनले आफू संसदीय दलको नेतामा हारेपछि पुनः संसदीय दलको नेता बन्नका लागि प्रयास जारी राखेको र यो सामान्य प्रक्रिया भएको बताए। उनले संसदीय दलको नेता बन्न पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिष्पर्धा गरिसकेपछि फेरि गर्न नपाउने भन्ने उल्लेख नगरेको भन्दै संसदीय दलको नेतामा लडिसकेपछि अहिले पनि त्यही योग्यता आफूसँग रहेको बताए। उनले मौका हेरिराख्ने र मौकामा संसदीय दलको नेता बन्ने प्रयास नगर्नु अस्वभाविक हुने बताए।
उनले भने, ‘मैले संसदीय दलको नेतामा प्रतिष्पर्धा गरेको हो। हाम्रो पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिष्पर्धा गरिसकेपछि फेरि गर्न पाउँदैनस् भनेर भेनेको छैन।
प्रतिष्पर्धा गर्ने बेलामा मैले आफूलाई योग्य ठानेर नै प्रतिष्पर्धा गरेको हो। यो बीचमा मेरो योग्यता घटेकोजस्तो मलाई लाग्दैन। मैले साथीहरुसँग सरसल्लाह गर्ने, मौका कुरिराख्ने, कतिबेला मौका आउला भनेर हेरिराख्ने गरेन भने चाहीँ अस्वभाविक हो। त्यो मैले गर्नैपर्छ। यो सबैकुरा मैले आदरणीय नेता शेरबहादुर देउवाबाटै सिकेको हो।’
कांग्रेसबाट प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्छ । सहमित हुने हो भने विधानको व्यवस्थालाई समेत गौण मान्न सकिन्छ । अहिले देउवाले थापाले भन्दैमा संसदीय दलकाे नेता छाड्ने अवस्था बनिसकेकाे छैन । र २५ मतलाई ४४ पुर्याउने गरी पार्टीमा समीकरण फेरबदल पनि हुने देखिएकाे छैन । तर पनि थापाले पटकपटक संसदीय दलकाे नेता परिवर्तनकाे कुरा निकालेर देउवामाथि दबाब बढाउने रणनीति मात्र लिएकाे रूपमा कांग्रेसभित्र बुझाइ छ ।