जनादेश वाच।
६ असारमा केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निवास धुम्बाराहीमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएर बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव गरे । देउवाकाे याे प्रस्तावले कांग्रेसभित्र मात्र हैन, अन्य दलहरू र सर्वसाधारणमा कांग्रेस त अब पारदर्शी बन्ने भयो, सुशासनमा गजबै गर्छ कि क्या हो भन्ने जबर्जस्त सन्देश प्रवाह भयो । तर, त्यो सन्देश त्यतिबेला बेलुनको हावा भयो, जब २ साउनमा सुरु भएको बैठकमा एजेन्डामै नरहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणको बचाउमा नेताहरू प्रतिस्पर्धा गरेरै उत्रिए ।
१ सय ५७ सदस्यीय केन्द्रीय कार्यसमितिमा सभापति देउवापक्षीय नेताहरू नै ८० प्रतिशत हाराहारीमा छन् । त्यसैले एक हप्ता लामो बैठकमा हरेक दिन बोल्ने केन्द्रीय सदस्यहरू देउवा पक्षकै धेरै हुने भए । देउवानिकट रहेका खाँणको बचाउमा संस्थापन पक्षीय नेताहरू उभिँदा बैठकको हरेक दिन कांग्रेसले सुशासन पचाइसकेको जस्तो देखियो । अझ परिस्थिति त त्यतिबेला लज्जास्पद बन्यो, जब पार्टीको वरिष्ठ नेता बन्ने लाइनमा रहेका गोपालमान श्रेष्ठले बैठकमा एक कदम अगाडि बढेर खाँणलाई जेल जानबाट रोक्न सकिन्थ्यो, किन रोकिएन भनेर प्रश्न गरे । उनकाे आशय सत्तारुढ गठबन्धनकाे प्रमुख दल भएर पनि आफ्नै नेतालाई पार्टीले जेल जानबाट राेक्न सकेन भन्ने देखियाे ।
नेता खाँणका अति निकट मानिने सहमहामन्त्री महेन्द्र यादव पहिल्यैदेखि खाँणको बचाउमा थिए । उनले केन्द्रीय समिति बैठकमा राज्यले नै खाँणलाई फसाएको दलिल पेस गरे । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले त परिवारको एक सदस्यलाई दुःख पर्दा अर्कोले सहयोग गर्नुपर्ने भनेर खाँणमाथि लागेको राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते अपराधजस्तो जघन्य आरोपलाई ‘दुःख’ भनिदिए । उनले घरका छोराछोरीले अपराध गरे प्रहरी बोलाउँछौँ कि बचाउँछौँ भन्दै आदर्शवादी कुरा नगर्न अर्काे पक्षलाइ चेतावनीसमेत दिए । खासमा बैठकमा उनको प्रस्तुति उनी आफैँ आदर्शबाट च्यूत भएको देखिने खालकाे थियाे ।
सहमहामन्त्री डिना उपाध्याय महालक्ष्मी पनि खाँणको बचाउमा उभिइन् । उनले एक साथीलाई अप्ठ्यारो पर्दा अरु साथीले सहयोग गर्ने कि नगर्ने भन्दै प्रश्न गरिन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक देशका जल्दाबल्दा मुद्दामा केन्द्रित भएन । केन्द्रीय सरकारमा ठूलो भाग लिएको, सातै प्रदेशको सरकारमा रहेको, चार प्रदेशकाे नेतृत्व लिइरहेको, सबैभन्दा धेरै स्थानीय तह जितेको, प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल हाे, कांग्रेस । लोकतान्त्रिक प्रणालीबाट केन्द्रीय कार्यसमिति चयन गरेको र देशका हरेक परिवर्तनका आन्दोलनमा नेतृत्व गरेको दलकाे केन्द्रीय कार्यसमितिको बैठक भने नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको जस्तो गम्भीर अपराधमा पुर्पक्षका लागि थुनामा रहेका नेताको बचाउमा केन्द्रित भयो ।
केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि तय भएका १० वटा एजेन्डाभन्दा बाहिर गएर केन्द्रीय सदस्य तथा पदाधिकारीहरू खाँणको बचाउमा उत्रिँदा सभापति देउवाले राेक्न चाहेनन् । पार्टीभित्रको विपक्षीलाई ठेगान लगाएको आत्मसन्तुष्टि लिए पनि फेसबुकमा लाइभ भइरहेको बैठकमा कसले के र किन बोल्यो भन्ने कुरा सार्वजनिक जानकारीमा आइसकेकाे छ । बैठककाे लाइभले कांग्रेस नेताहरूले आफ्नो सुशासनविरोधी मुहार जनतामाझ छर्लङ्ग देखाएका छन् ।
गगनको काउन्टर
गगन थापाले पार्टीमा नेतृत्व परिवर्तनको प्रयासलाई निरन्तरता दिने बताएका छन् । सांसदको मत पाउने कुरा गाह्रो भन्ने थाहा हुँदाहुँदै पनि संसदीय दलको नेतृत्व परिवर्तनका लागि पनि प्रयास गर्ने उनले बताए । कांग्रेस केन्द्रीय समिति बैठकलाई सोमवार सम्बोधन गर्दै महामन्त्री थापाले जीवन्त पार्टीमा नेतृत्व परिवर्तनका लागि निरन्तर प्रयास हुने भन्दै त्यो अभियानमा लागिरहने बताएका हुन् ।
‘नेपालका राजनीतिक दलमा वर्षाैंदेखि नेतृत्व परिवर्तनको बहस चलिरहेको छ । हाम्रा पार्टी जमेको पोखरी जस्तो भएका छन् । ३५ वर्षदेखि केही नेताले आलोपालो गरिरहेका छन् । यो बदल्नुपर्छ भनेर लागेको हो,’ महामन्त्री थापाले भने, ‘सभापतिप्रति व्यक्तिगत रूपमा असिम श्रद्धा छ तर यो विषयले नेपालको राजनीतिमा प्रवेश पाएन भने राजनीतिले सही गति लिँदैन । यसलाई बदल्नुपर्छ, मेरो एड्भोकेसी रहन्छ ।’
महामन्त्री थापाले आफू पार्टी फोड्न नभई संसदीय दलको नेता परिवर्तन गर्न लागेको भन्दै यो अभियान नरोक्ने बताए । ‘मैले संसदीय दलको नेता परिवर्तनको प्रयास गरें, यो प्रयास गर्न मिल्दैन त ? आवश्यकता छैन त ? प्रयास गर्दै गर्ने हो, सांसदको मत पाउने कुरा गाह्रो छ । गाह्रो छ भन्दैमा ठीक काम नगरी बस्न हुन्छ त ?’
थापाले सभापति शेरबहादुर देउवातर्फ हेर्दै भने, ‘सभापतिले १–२ महिनापछि म ५ पटक प्रधानमन्त्री भइसकें, अब हुन्न, को हुने हो भनेर भन्नुहुन्छ कि ? जो हुन्छ मैले साथ दिने हो । कोही अगाडि नबढ्दा म अगाडि बढेको हो ।’
थापाले पार्टीभित्र बहस मन्थन भए पनि कांग्रेस बैठक सकिँदा देशलाई भरोसा दिने निर्णय गरेर अगाडि बढ्नुपर्ने बताए । महामन्त्री थापाले पार्टी केन्द्रीय समिति बैठकमा १३ बुँदे धारणा प्रस्तुत गरेका छन् । सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा महामन्त्री थापाले आफ्नो १३ बुँदे धारणालाई लिखित मतको रुपमा पार्टी बैठकमा दर्ज गराएका हुन् । थापाद्वारा प्रस्तुत धारणामा विगत लामो समयदेखि शासकीय संरचनामा प्रवृत्तिकै रूपमा जरो गाडेर बसेको भ्रष्टाचार र कुशासनले गर्दा सरकार, राजनीतिक दल, राजनीतिकर्मी, नीति निर्माता, कर्मचारीतन्त्र लगायत राज्यका निकायप्रति व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा व्यक्त गरिएको छ ।
यस्तै, उनले कोही कुनै प्रकरणमा दोषी छ भने जस्तोसुकै शक्तिशाली र प्रभावशालीले पनि उन्मुक्ति पाउन नहुने उल्लेख गर्दै अनुसन्धानलाई जिम्मेवार बनाउनका लागि प्रश्न गर्ने अधिकार सबैमा रहने उल्लेख गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेतालाई पार्टी सदस्यबाट निलम्बन गरिनुपर्ने धारणा समेत थापाले प्रस्तुत गरेका छन् ।