माओवादी केन्द्रीय समितिको तयारीः प्रचण्डले ल्याउँदैछन् बाबुरामलाई समेट्ने प्रस्ताव पनि – Janadesh Daily | ePaper

माओवादी केन्द्रीय समितिको तयारीः प्रचण्डले ल्याउँदैछन् बाबुरामलाई समेट्ने प्रस्ताव पनि


जनादेश वाच।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको तयारी तीव्र बनाइएको छ । साउन १७ गते राजधानीको प्रज्ञा भवनमा बस्ने तय भएको बैठकका लागि केन्द्रीय कार्यालयबाट आवश्यक तयारी भइरहेको हो । यस्तै महासचिव देव प्रसाद गुरुङले पनि बैठकको तयारीका सन्दर्भमा मातहतका कमिटीलाई सर्कुलर पठाउनेदेखि आवश्यक समन्वय र गृहकार्य गरिरहेका छन् ।

बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले इटाली भ्रमणबाट फर्किएपछि आवश्यक काम गर्ने बताइएको छ । त्यसअघि केन्द्रीय कार्यालयबाट आवश्यक ड्राफ्ट तयार गर्ने क्रम चलिरहेको छ । बैठकमा नेपाल समाजवादी पार्टीसँग एकता गर्नेसहितका विविध राजनीतिक विषयमा छलफल हुनेछ । यस्तै सांगठनिक विषयका साथै पार्टीको आगामी रणनीतिका सन्दर्भमा बैठकले ठोस कार्ययोजना तय गर्ने बताइएको छ ।


बैठकको तयारीको सन्दर्भमा माओवादीको केन्द्रीय कार्यालयले असार पहिलो साता नै मातहतका कमिटीमा ५ बुँदे सर्कुलर पठाएको थियो ।

त्यतिबेला माओवादीले २ महिने अभियानको समग्र समीक्षासहितको लिखित प्रतिवेदन सबै प्रदेशहरूले अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो । यस्तै तीन तहमा सम्पन्न निर्वाचनमा भएका घातअन्तरघात र कमीकमजोरीहरू भए त्यसको समेत लिखित प्रतिवेदन पनि माग गरिएको थियो भने पार्टी केन्द्रलाई दिनपर्ने केही सुझावहरु भए सोको पनि माग भएको थियो ।

बाबुरामलाई भित्र्याउने प्रचण्डको योजना

बैठकमा मुख्यगरी डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको एजेन्डा प्रस्तुत हुने बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त विषयलाई अगाडि बढाउने संकेत गरेका छन् । भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्न प्रचण्ड र बाबुरामबीच २०७९ मंसिरको चुनावअघि नै सहमति भएको थियो । तर, सहमति जुटेको एक वर्ष बित्न लाग्दा पनि एकता प्रक्रिया भने अगाडि बढेको छैन ।

बरु यसबीचमा प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग मिलेर समाजवादी मोर्चा बनाए । उक्त मोर्चाबन्दीमा नियोजित रूपमा बाबुराम भट्टराई छुटेका छन् । जबकि समाजवादी मोर्चाको अवधारणा केही वर्षअघि नै बाबुरामले सार्वजनिक गरेका थिए । त्यसका लागि २०७९ को चुनावअघि बाबुरामले प्रचण्ड र माधव नेपाललाई जोड्ने प्रयास गरेका थिए । निकै दौडधुप गरेर त्यतिबेला समाजवादी केन्द्र बनाउने, चुनाव चिह्न र घोषणापत्र पनि साझा बनाउने अनौपचारिक सहमति भएको थियो । उक्त मोर्चामा वामदेव गौतम पनि थपिने चर्चा थियो ।

त्यतिबेला समाजवादी केन्द्र बन्न सकेन । अहिले ४ असार २०८० मा बनेको केन्द्रबाट बाबुरामलाई आउट गरियो । बाबुरामलाई समाजवादी मोर्चामा ल्याउन उपेन्द्र यादवले रोकेका थिए । मोर्चा बनाउने निर्णय हुँदा बाबुराम पन्छिने स्थिति आएपछि बाबुराम र प्रचण्डबीच बालुवाटारमा छलफल पनि भएका थिए । त्यतिबेला पनि प्रचण्डले बाबुरामलाई एकतासँग जोडेर नै आश्वस्त पारेको बताइन्छ ।

माओवादी स्रोतका अनुसार प्रचण्ड र बाबुरामबीच त्यतिबेला भएका सहमति अनुसार नै १७ साउनको केन्द्रीय समिति बैठकमा प्रस्ताव पेस हुने तयारी छ । बाबुरामले जेठ २०८० मा नै एकतासम्बन्धी प्रस्ताव पठाएका थिए । त्यतिबेला बाबुरामले पार्टीको नाम, झन्डा, चुनाव चिह्नसहितको प्रस्ताव पठाएका थिए । त्यसको जवाफ भने प्रचण्डले अहिलेसम्म दिएका छैनन् । बाबुरामले पार्टीको नाम परिवर्तन गर्नुपर्ने र माओवादी शब्द राख्न नहुने प्रस्ताव गरेका छन् । बाबुरामले नेकपा समाजवादी भनेर पार्टीको नाम राख्नुपर्ने प्रस्ताव गरेका छन्, जसबारे प्रचण्डले जवाफ दिइसकेका छैनन् । त्यसैगरी, बाबुरामको प्रस्ताव चुनाव चिह्न फेर्नुपर्ने भन्ने पनि छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्