जनादेश वाच।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा गठन भएको एक महिनाभन्दा बढी भइसकेको छ। एक महिनापछि बसेको समाजवादी मोर्चाको सचिवालय बैठकले अप्राकृतिक गठबन्धन र साँठगाँठ गर्न नपाइने, मोर्चाको नीतिविरुद्ध सार्वजनिक टिकाटिप्पणी गर्न नपाइने, एउटा पार्टीले अर्कामाथि आरोप-प्रत्यारोप गर्न नपाइने, मोर्चाको कार्यक्रममा मोर्चाकै निर्णय अनुरुप आफ्नो मन्तव्य राख्नुपर्ने लगायत १३ बुँदे आचारसंहिता जारी गरेको छ।
यसरी मोर्चा सक्रिय भइरहँदा सरकार गठनको मूल घटक नेपाली कांग्रेससँग गठबन्धन हुँदाहुँदै अर्को समानान्तर देखिने गरी मोर्चा नाम दिएर गठबन्धन गरिएको भन्नेबारे पक्ष-विपक्षमा विभिन्न टिप्पणीहरु भइरहेका छन्। केहीले कांग्रेसलाई दबाबमा राख्न प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा बनाएको विश्लेषणहरु पनि भएका थिए।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पनि समाजवादी मोर्चा किन र कसका लागि बनाइएको भन्दै प्रश्नहरु उठे। केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सत्ता गठबन्धनभित्र बनेको समाजवादी मोर्चाबारे कांग्रेसले छलफल गर्नुपर्ने माग गरेका थिए। उनले भनेका थिए, ‘राजनीतिक दलको बारेमा कुरा नगरौं भनेर यहाँ कुरा उठ्यो, तर गठबन्धनभित्र पनि अर्को गठबन्धन समाजवादी मोर्चा कसका लागि बनेको हो ? छलफल गर्न जरुरी छ।’
यसअघि पनि कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका क्रममा सिंगापुर रहेको समयमा समाजवादी मोर्चा बनाएको र यसले भोलिका दिनमा कांग्रेसलाई धोका हुन सक्ने स्वरहरु उठेर गठबन्धनको औचित्यमाथि नै प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री प्रचण्डले नै कांग्रेसको सल्लाहमा नै मोर्चा बनेको बताएका थिए। कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम टफटकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवाकै सल्लाहमा मोर्चा गठन भएको बताएका थिए।
उनले भनेका थिए, ‘शेरबहादुर देउवाजी चाहनुहुन्थ्यो कि छिटो हाम्रो मोर्चा बनोस्। उहाँलाई विश्वास थियो। उहाँ भनिरहनुहुन्थ्यो कि छिटो मोर्चा बनाउनुस् भनेर। मोर्चा बनाउनु उचितै हो भन्नेमा उहाँको पनि सहमति छ।’
आफ्नो बोलि फेरिरहने प्रधानमन्त्री प्रचण्डको उक्त भनाइलाई पूर्ण विश्वास नगरेको भए पनि नोटिसमा राखेका थिए। यस कुरालाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पुष्टि पनि गरिदिएका छन्। उनले पनि सभापति देउवालाई साक्षी राखेर नै माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा बनाउने जानकारी गराएको बताए। सभापति देउवाले पनि सहमति दिएपछि समाजवादी मोर्चा चाँडै बनाउने निर्णय भएको थियो।
‘समाजवादी मोर्चाका बारेका एउटा कुरा उठेको छ, मैले यो कुरा जस्ताको त्यस्तै भन्नुपर्छ। कन्फ्युजन भयो भने बिग्रिन्छ,’ उपभापति खड्काले भने, ‘पुस १० गते बनेको गठबन्धन भत्काएर पुरानो गठबन्धन पुनर्स्थापित गर्ने राति बालुवाटारमा हाम्रो सभापतिज्यू (शेरबहादुर देउवा), नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवजी र जनता समाजवादीका अध्यक्ष उपेन्द्रबीचमा गठबन्धन पुनर्स्थापित गर्नेबारे जे सहमति भयो, त्यही समयमा गठबन्धनलाई थप बलियो बनाउन माओवादी, समाजवादी र जनता समाजवादीको मोर्चा बन्दा यसलाई विश्वासको वातावरण बन्छ, आशंका हट्छ भनेर तीन दलको मोर्चा बनाउँछौं भनेर हाम्रो सभापतिजीलाई भन्नुभयो। त्यही दिन नै राति तीन दलको मोर्चा बनाउने सहमति भएको कुरा म केन्द्रीय समितिलाई जानकारी गराउन चाहन्छु।’
उनले सभपति देउवासँग भएको सहमतिअनुसार नै समाजवादी मोर्चा घोषणा गरिएको जानकारी गराए। ‘प्रचण्डजीले कांग्रेसलाई जानकारी छ, उहाँहरुकै सहमतिमा मोर्चा बनायौं पनि भन्नुभएको थियो। यो कुरा केन्द्रीय समितिमा उठ्यो र यसलाई जानकारी गराएँ,’ उनले थपे, ‘त्यही दिनको निर्णयअनुसार पछि विप्लवजी थपिएर चार दलको समाजवादी मोर्चा सार्वजनिक रुपमा घोषणा भएको हो।’
उनले समाजवादी मोर्चा गठनबारे नेपाली कांग्रेसले त्यही रुपमा बुझ्नुपर्ने उल्लेख गर्दै भने, ‘भविष्यका दिनमा मोर्चा कसरी जान्छ, हामी कसरी जाने, त्यो कुरा त राजनीतिक घटनाक्रमहरुले जोडिने कुरा हो।’
देउवाको सहमतिपछि मात्रै मोर्चाको मूर्त रुप
तत्कालीन नेकपा एकता भत्किएर नेकपा एमाले र नेकपा माओवादी ब्युँतिएसँगै माओवादी अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा बनाउने बताइरहेका थिए। तर, प्रचण्डको उक्त योजना करिब डेढ वर्षपछि २०८० असारमा पूरा भयो। त्यसमा पनि कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिपछि समाजवादी मोर्चाले मूर्त रुप पाएको हो।
देउवा प्रधानमन्त्री भएको र माओवादी सत्ता घटक रहेको समयमा माओवादी अध्यक्ष प्रचण्डले २०७८ फागुन २७ मा विचार मिल्ने कम्युनिस्ट पार्टी मिलेर बृहत् समाजवादी मोर्चा बन्ने बताएका थिए। उनले भनेका थिए, ‘यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरुरी छ।’ शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिन मोर्चा बनाउनुपर्ने उनले सुनाएका थिए।
तर, त्यसबेला मोर्चा बनेन। स्थानीय निर्वाचनलगत्तै पनि अवधारणापत्र बनाएर मोर्चा घोषणाको तयारी भएको थियो। स्थानीय निर्वाचनमा कांग्रेससहित माओवादी, एकीकृत समाजवादी र जसपाले ३० वैशाखमा स्थानीय तहको चुनावमा गठबन्धन गरे। स्थानीय निर्वाचन सम्पन्न भएपछि आम निर्वाचनमा कांग्रसभित्र गठबन्धन नबनाउने र एक्लै चुनावमा होमिने स्वरहरु उठेपछि पनि माओवादी अध्यक्ष प्रचण्डले चुनावअघि नै मोर्चा घोषणा हुने बताएका थिए। यद्यपि पछि कांग्रेसले पुरानै गठबन्धनलाई निरन्तरता दिँदै संघ र प्रदेश निर्वाचनका लागि सिट बाँडफाँट गरे। निर्वाचनमा गठबन्धन दलले नै सुविधाजनक मत ल्यायो।
माओवादी र कांग्रेसबीच आफू पहिले प्रधानमन्त्री बन्नुपर्ने अडानका कारण अन्तिम समयमा सरकार बनेन। उता गठबन्धन कसरी भत्काऊँ भनेर दाउ हेरिरहेको एमालेले प्रचण्डलाई पहिले प्रधानमन्त्री बनाउने गरी आफूसँग मिलेर सरकार बनाउन प्रस्ताव गर्यो। जसका कारण कांग्रेससहितको पुरानो गठबन्धन भत्कियो र एमालेकोसहितको ७ दलीय नयाँ गठबन्धनको सरकार बन्यो।
पुस १० मा प्रचण्ड प्रधानमन्त्री बने। तर, पछि कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दियो र प्रचण्डसँग सहकार्य गर्ने ढोका खोल्यो। त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवासँग राष्ट्रपति निर्वाचनमा सहकार्य गर्ने, कांग्रेस सरकारमा सामेल हुनुपर्ने र तीन दल मिलेर समाजवादी मोर्चा गठन गर्ने विषयमा छलफल गरेका थिए। उक्त विषयमा कांग्रेस सभापति देउवाले सहमत भएपछि माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर मोर्चाले मूर्त रुप पाएको हो।