जनादेश वाच।
नेकपा (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय समिति बैठकमा पेश हुने राजनीतिक प्रतिवेदनमा पदाधिकारी तहमा छलफल शुरु गरेको छ । माओवादीको केन्द्रीय समिति बैठक झण्डै वर्ष दिन पछि साउन १७ गतेबाट काठमाडौंको प्रज्ञाभवनमा बस्दैछ ।
केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । उक्त प्रतिवेदनको तयारीका बारेमा छलफल गर्नका लागि आज देखि पदाधिकारी बैठकमा छलफल थालेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इटालीको रोममा आयोजित कार्यक्रममा सहभागी भएर शुक्रवार स्वदेश फर्केपछि शनिबारदेखि पार्टीको राजनीतिक तथा सांगठानिक प्रतिवेदनबारे आन्तरिक छलफल सुरु गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको सचिव चक्रापाणि खनालले जानकारी दिए । खनालले भने, ‘केन्द्रीय समितिको बैठकलाई मध्यनजर राख्दै यो बैठक आजको प्रतिवेदनको तयारी संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन र त्यसपछि केन्द्रीय समितिको बैठकलाई कसरी लैजाने र पदाधिकारीहरुको सुझाव के छरु त्यसबारे मुख्य छलफल भयो। त्यसपछि स्थायी समिति बैठक केन्द्रीय समिति बैठक अघि नै बोलाउने र त्यो बैठकबाट फेरि केन्द्रीय समितिलाई अलि व्यवस्थित र पूर्ण रुपमा कसरी लैजाने भन्ने बारेमा छलफल भयो।’
पार्टीको संगठन विभाग तथा उपाध्यक्षहरुले तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदामाथि पदाधिकारी बैठकमा छलफल सुरु भएको उनको भनाई छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल इटाली जानु अघि नै बसेको माओवादी पदाधिकारी बैठकले आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको मस्यौदा तयार पार्ने जिम्मेवारी पार्टीको संगठन विभाग र उपाध्यक्षहरुलाई दिएको थियो। सोही प्रतिवेदनको मस्यौदामाथि आजको बैठकमा छलफल सुरु गरिएको छ।
त्यसलाई निष्कर्षमा पुर्याउनका लागि आइतवार (आज) पनि पदाधिकारी बैठक बोलाइएको खनालले बताए । बैठकमा पार्टीको केन्द्रीय कार्य समिति बैठक बस्नुअघि स्थायी समिति बैठक बोलाई त्यसका एजेन्डाहरु टुंगो लगाउने विषयमा पनि नेताहरुबीच सहमति भएको छ। माओवादीले पार्टीको केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशनका बारेमा पनि निर्णय लिन सक्ने बताइएको छ ।
के आउँदै छ प्रस्ताव
बैठकमा सरकारको समीक्षासहित पार्टी एकतासम्मका एजेन्डाले प्रवेश पाउनेछन् । बैठकमा मुख्यगरी डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको एजेन्डा प्रस्तुत हुने बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त विषयलाई अगाडि बढाउने संकेत गरेका छन् । भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्न प्रचण्ड र बाबुरामबीच २०७९ मंसिरको चुनावअघि नै सहमति भएको थियो । तर, सहमति जुटेको एक वर्ष बित्न लाग्दा पनि एकता प्रक्रिया भने अगाडि बढेको छैन ।
बरु यसबीचमा प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग मिलेर समाजवादी मोर्चा बनाए । उक्त मोर्चाबन्दीमा नियोजित रूपमा बाबुराम भट्टराई छुटेका छन् । जबकि समाजवादी मोर्चाको अवधारणा केही वर्षअघि नै बाबुरामले सार्वजनिक गरेका थिए । त्यसका लागि २०७९ को चुनावअघि बाबुरामले प्रचण्ड र माधव नेपाललाई जोड्ने प्रयास गरेका थिए । निकै दौडधुप गरेर त्यतिबेला समाजवादी केन्द्र बनाउने, चुनाव चिह्न र घोषणापत्र पनि साझा बनाउने अनौपचारिक सहमति भएको थियो । उक्त मोर्चामा वामदेव गौतम पनि थपिने चर्चा थियो ।
त्यतिबेला समाजवादी केन्द्र बन्न सकेन । अहिले ४ असार २०८० मा बनेको केन्द्रबाट बाबुरामलाई आउट गरियो । बाबुरामलाई समाजवादी मोर्चामा ल्याउन उपेन्द्र यादवले रोकेका थिए । मोर्चा बनाउने निर्णय हुँदा बाबुराम पन्छिने स्थिति आएपछि बाबुराम र प्रचण्डबीच बालुवाटारमा छलफल पनि भएका थिए । त्यतिबेला पनि प्रचण्डले बाबुरामलाई एकतासँग जोडेर नै छलफल गरेर आश्वस्त पारेको बताइन्छ ।
माओवादी स्रोतका अनुसार प्रचण्ड र बाबुरामबीच त्यतिबेला भएका सहमति अनुसार नै १७ साउनको केन्द्रीय समिति बैठकमा प्रस्ताव पेस हुने तयारी छ । बाबुरामले जेठ २०८० मा नै एकतासम्बन्धी प्रस्ताव पठाएका थिए । त्यतिबेला बाबुरामले पार्टीको नाम, झन्डा, चुनाव चिह्नसहितको प्रस्ताव पठाएका थिए । त्यसको जवाफ भने प्रचण्डले अहिलेसम्म दिएका छैनन् । बाबुरामले पार्टीको नाम परिवर्तन गर्नुपर्ने र माओवादी शब्द राख्न नहुने प्रस्ताव गरेका छन् । बाबुरामले नेकपा समाजवादी भनेर पार्टीको नाम राख्नुपर्ने प्रस्ताव गरेका छन्, जसबारे प्रचण्डले जवाफ दिइसकेका छैनन् । त्यसैगरी, बाबुरामको प्रस्ताव चुनाव चिह्न फेर्नुपर्ने भन्ने पनि छ ।