केन्द्रीय समिति बैठकः पार्टीभित्र कम छैनन् चुनौति तर चिन्तामा छैनन् प्रचण्ड – Janadesh Daily | ePaper

केन्द्रीय समिति बैठकः पार्टीभित्र कम छैनन् चुनौति तर चिन्तामा छैनन् प्रचण्ड


जनादेश वाच।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बुधबार (आज)देखि बस्दैछ । काठमाडौंमा हुने बैठकमा पेचिलो छलफल हुने प्रारम्भिक छनक देखिएको छ । तेस्रो दल भएर सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र आन्तरिक रूपमा भने भद्रगोल अवस्थामा छ । चुनावमा निरन्तर घट्दो जनमत, जनतासँगको सम्बन्धबाट टाढिने र नेता कार्यकर्ताले जिम्मेवारी नपाउनेजस्ता प्रमुख समस्यासँग माओवादी जुधिरहेको छ ।

यतिमात्रै होइन, नेताको असन्तुष्टि मेट्न जम्बो ५ सय सदस्यीय केन्द्रीय कमिटी बनाए पनि उनीहरूले दुई वर्षदेखि जिम्मेवारी पाउन सकेका छैनन् । माओवादीमा ४०७ जना पूर्ण र बाँकी वैकल्पिक केन्द्रीय सदस्य छन् । तर, पार्टीभन्दा सत्ताकेन्द्रित राजनीतिमा बढी समय बिताउँदा अध्यक्ष प्रचण्डले समयमा पार्टीका संरचनालाई पूर्णता दिन सकेका छैनन् ।

पछिल्लो समय प्रचण्डले खुला राजनीतिमा फर्किएका नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवलाई महासचिव बनाएर भित्र्याउने तयारी गरेसँगै उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा असन्तुष्ट बनेको टिप्पणीहरू भइरहेका छन् । यही कारण एकअर्काका प्रतिस्पर्धी एवं महासचिवका दाबेदार पुन र शर्मा एक ठाउँमा उभिन आइपुगेका छन् । गत महाधिवेशनमा दुवैले महासचिव बन्न लबिङ गरेपछि प्रचण्डले देव गुरुङलाई महासचिव बनाएर उनीहरूलाई उपमहासचिवमा सिमित गरेका थिए । गत महाधिवेशनमा एकले अर्कालाई महासचिव नस्वीकार्दा दुवैले त्यो पद पाउन सकेका थिएनन् ।

विप्लवको इन्ट्रीले फेरिएको परिस्थितिमा बैठकमा पुन र शर्मा कसरी प्रस्तुत होलान् त ? माओवादी नेताहरूका अनुसार, पार्टीभित्र पुन र शर्मा दुवैको बलियो गुट छ । यी दुई नेता नै एक ठाउँमा उभिए प्रचण्डमाथि गतिलै दबाब सिर्जना हुन सक्छ ।

केन्द्रीय सदस्य अनिल शर्माले बैठक लाइभ गर्ने निर्णयको विरोध गरेका छन् । उनी उपमहासचिव शर्माका भाइ हुन् । अनिलले बैठक लाइभ गर्ने निर्णयलाई अरुको पछि लागेर र लहडका भरमा गरिएको टिप्पणी गरेका छन् । ‘अरुको पछि लागेर लहडमा गरिएको यो निर्णयले कि त बैठकलाई सामान्य औपचरिकतामा सिमित गर्दै केन्द्रीय समितिलाई निकम्मा बनाउन खोजिँदै छ कि बैठकहरूलाई एउटा दिर्घकालीन दुस्चक्रमा फसाइँदै छ,’ अनिलले सामाजिक सञ्जालमै लेखेका छन्, ‘बेलैमा होसियार बन्ने कि । हाम्रा पदाधिकारीहरूलाई यसैमार्फत सुझाव दिन चाहन्छु ।’

केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले पनि बैठक लाइभ गर्ने निर्णयको विरोध गरेका छन् । ‘पार्टी कमिटी घर हो, परिवार हो, जीवन हो । जीवन, घर, परिवारका अन्तरंग छलफल लाइभ गर्ने विषय होइनन् । ढुक्कसँग बोल्न पाउनुपर्छ, आनन्दसँग सुन्न पाउनुपर्छ,’ सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यस्तै, केन्द्रीय सदस्य डीपी ढकाल पनि बैठक लाइभ गर्ने निर्णयको विपक्षमा छन् । ‘सेलीब्रेटीका हिसाबले ठीक होला । पार्टीको बैठकमा नेताहरूले सुनाउनुपर्ने धेरै कुराहरू हुन्छन् । आवेग हुन्छ । बैठक लाइभ गर्दा मन खोलेर छलफल हुने बाटो बन्द हुन्छ,’ ढकाल भन्छन्, ‘लाइभ गर्दा पार्टीभित्र जिवन्त छलफल मार्छ । दुनियाँलाई सुनाउन नमिल्ने कुरा पार्टी नेताहरूलाई सुनाउनुपर्ने हुन्छ । सुनाउने कि नसुनाउने भन्ने नैतिक संकट पर्छ । यो औपचारिक रूपमा राम्रो देखिए पनि पार्टी जीवनको लागि राम्रो हुँदैन ।’

तर, सरकारले चालेका भ्रष्टाचारविरुद्धका कदमका कारण सरकार र त्यसको नेतृत्वले अहिले प्रशंसा पाइरहेको छ । यस्तो अवस्थामा पुन र शर्माले काँध मिलाउँदैमा त्यसको दबाबमा प्रचण्ड परिहाल्लान् भन्ने स्थिति देखिएको छैन ।अर्काेतर्फ बैठकको सम्मुखमा माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनमाथि प्रश्न उठिरहेको समय छ । माओवादीकै एक केन्द्रीय नेताका अनुसार, यस्तो अवस्थामा प्रशंसा पाएको सरकारको नेतृत्व गरेका प्रचण्ड गलिहाल्ने अवस्था छैन ।

माओवादीभित्र तन्किएको विवादका बीच पदाधिकारी बैठकबाट प्रचण्डले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गराए । बैठक लाइभ गर्ने निर्णय गराएर प्रचण्डले केन्द्रीय कमिटीमा जुन रूपमा प्रश्न उठ्छ, त्यही रूपमा जवाफ दिन म पनि तयार छु भन्ने सन्देश दिएका छन् । यसको अर्थ प्रचण्डले पुन र शर्माको पछिल्लो ‘जुगलबन्दी’लाई राम्रैसँग विश्लेषण गरेका छन् । तर, प्रचण्डले पुन र शर्मालाई कम आँकेका त छैनन् ? यसको निर्क्यौल भने बैठकले नै गर्नेछ ।

अर्कातर्फ, प्रचण्डसँग आफूले नेतृत्व गरेको सरकारले चालेका कदम ‘पुँजी’का रूपमा रहनेछ । साथै प्रचण्डलाई ठाडै चुनौती दिन सहज पनि देखिएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्